काठमाडौं- सरकारले ह्यान्ड स्यानिटाइजरको दर्ता अनुमतिका लागि तीन महिना समय थप गरेकोमा नेपाल औषधि उत्पादक संघले विरोध जनाएको छ।
सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्री–वितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै संघले विरोध जनाएको हो। अवैध रुपमा र बिना दर्ता स्यानिटाइजर बिक्री भइरहेको अवस्थामा दर्ता अनुमतिका लागि तीन महिना थप गर्न नहुने संघले जनाएको छ।
तीन दिनभित्र निर्णय फिर्ता लिन संघले औषधि व्यवस्था विभागमा पत्राचार समेत गरेको छ। तीन दिनभित्र निर्णय फिर्ता नलिए कडा आन्दोलन गर्ने संघको चेतावनी छ।
विभागमा दर्ता भई स्वदेशमै उत्पादन हुने इथानोलको प्रयोग गरी करिब ४० उद्योगहरुले हाल स्यानिटाइजर उत्पादन गरिरहेका छन्। विभागले चैत ९ गते सूचना निकाली तीन महिनाभित्र दर्ता प्रक्रियामा आउन आह्वान गरेको थियो। सूचना बमोजिम ४० वटा उद्योगले १ सय २० वटा स्यानिटाइजर उत्पादनका लागि दर्ता गरेको संघले जनाएको छ।
सरकारले थप तीन महिना दर्ता प्रक्रियाका लागि समयावधि थप गर्दा जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील नभएको संघको भनाइ छ। सरकारले तीन महिना थप गर्दा अवैध रुपमा र विना दर्ता स्यानिटाइजर बनाउने काम बढ्न सक्ने उनीहरुले बताएका छन्।