काठमाडौं - काठमाडौं उपत्यकाका अस्पतालमा मात्र हुँदै आएको सशुल्क पिसिआर परीक्षण अब प्रत्येक प्रदेशमा पनि हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक प्रदेशमा कम्तीमा एक प्रयोगशालामा सशुल्क पिसिआर परीक्षणका स्वीकृति दिएको छ। यही असार २४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले प्रत्येक प्रदेशमा सशुल्क परीक्षणको अनुमति दिने निर्णय गरेको थियो।
प्रदेश १ मा कोशी अस्पताल र प्रदेश २ मा नारायणी अस्पतालले सशुल्क परीक्षणका लागि स्वीकृति पाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिमा प्रादेशिक प्रयोगशाला धनगढीले स्वीकृति पाएको मन्त्रालयले जनाएको छ।
यसअघि काठमाडौं उपत्यकाको वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा मात्रै सशुल्क परीक्षण हुँदै आएको थियो।
कुनै ट्राभल हिस्ट्री नभएको, जोखिममा नपर्ने तर आफुलाई शंका लागेका व्यक्तिले यी अस्पतालहरुमा सशुल्क पिसिआर परीक्षण गर्न पाउँछन्। यी अस्पतालमा सशुल्क पिसिआर परीक्षणका लागि ५५ सय रुपैयाँ शुल्क तोकिएको मन्त्रालयले जनाएको छ।