काठमाडौं- समुदायमा कोरोना भाइरसको स्थिति पत्ता लगाउन उपत्यकाका विभिन्न स्थानबाट ७ सय ७ नमुना संकलन गरिएको छ। उपत्यकाका समुदायमा कोरोना भाइरस संक्रमणको स्थिति पत्ता लगाउन सरकारले बिहीबारदेखि नमुना संकलन कार्य सुरु गरेको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले समुदायस्तरमा कोरोना भाइरसको संक्रमण पत्ता लगाउन उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न कार्यालय र स्थानबाट ५ हजार नमूना संकलन गर्ने लक्ष्य राखेको छ।
कोभिड–१९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सिसिएमसी) र महाशाखाको टोलीले देशभरबाट नमूना संकलन गर्ने बताइएको छ।
महाशाखाअन्तर्गतको सर्भिलेन्स तथा अनुसन्धान शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले उपत्यकाभित्रका उच्च जोखिमयुक्त क्षेत्र, वित्तीय संस्था, अस्पताल र जनसम्पर्क बढी हुने कार्यालयमा कोरोना भाइरस संक्रमणको स्थितिबारे जानकारी लिन नमुना संकलन भइरहेको बताए। उनले ५ दिनमा ५ हजार व्यक्तिको नमुना लिइने बताए।
शुक्रबार भक्तपुरपस्थित मालपोत कार्यालय तथा मानव अंग प्रत्यारोपण केन्द्र र काठमाडौंस्थित ट्रमा सेन्टर, वीर अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, एभरेस्ट बैंक काठमाडौं, ग्लोबल आइएमई बैंकका कर्मचारी र त्यहाँ सेवा लिन आएका व्यक्तिहरूमध्ये ७०७ जनाको पिसिआर परिक्षणका लागि नमूना लिइएको जानकारी वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले दिए।
शनिबार ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको लुभु र किस्ट मेडिकल कलेजमा नमूना संकलन हुने महाशाखाले जनाएको छ।
महाशाखाले यसअघि ट्राभल हिस्ट्री नभएका उपत्यकाका १२ जना संक्रमितको सम्पर्कमा आएका करिब १ एक हजार २ सय जनाको पनि स्वाब संकलन गरी पिसिआर परीक्षण गरिरहेको छ।