काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या करिब १७ हजार पुगेको छ। गत २४ घन्टामा १ सय ४४ जना भेटिएसँगै संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको हो।
२५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका ४, मोरङ र सुनसरीका १÷१ जना, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका १ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ११ र महोत्तरीका ४, नारायणी अस्पताल वीरगञ्जमा धनुषाका १६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २ र कपिलवस्तुका ८ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भक्तपुरका १, पाटन अस्पताल ललितपुरमा ललितपुरका ५, काभ्रे, कैलाली, म्याग्दी र दोलखामा १/१, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा मकवानपुरका १ र रौतहटका ९ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा धुलिखेल अस्पतालमा सिन्धुलीका १, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका १ र बागलुङका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा म्याग्दी, पवर्त र स्याङजाका १/१ र तनहुँका २ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका १, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बर्दिया र दाङका २/२, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा रुकुम पश्चिमका २, सुर्खेत प्रादेशिक अस्पतालमा बाँकेका १, दैलेखका २, जाजरकोटका १ र सुर्खेतका ४१ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
डडेल्धुरा अस्पताल प्रयोगशालामा बझाङ र बैतडीका २/२, सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका १ र कैलालीका १० जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए।
कोरोनाको आशंकामा गत २४ घन्टामा ५ हजार ८ सय ५६ जनाको पिसिआर परीक्षण गरिएको छ। मुलुकभर हाल ६ हजार ६ सय १३ जना अस्पतालको आइसोलेसन र १० हजार २ सय ९४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।