काठमाडौं- विश्वका विभिन्न देशमा गरी हालसम्म कोरोना उपचारमा खटिएका ३ हजारभन्दा स्वास्थ्यकर्मीको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ।
एम्नेस्टी इन्टरनेसनले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वका ७९ देशहरूमा ३००० भन्दा धेरै स्वास्थ्यकर्मीहरूले कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।
'कोभिड-१९ को संक्रमणका कारण कति स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको मृत्यु भएको छ भन्ने कुराको अहिले कुनै व्यवस्थित विश्वव्यावी लेखाजोखा छैन' एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'यद्यपि, एम्नेस्टी इन्टरनेसनलले सङ्कलन गरी विश्लेषण गरेको उपलब्ध फराकिलो तथ्याङ्कले के देखाउँछ भने विश्वका ७९ देशहरूमा ३००० भन्दा धेरै स्वास्थ्यकर्मीहरूले कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।'
यी ९ देशमा धेरै स्वास्थ्यकर्मीको मृत्यु
एम्नेस्टी इन्टरनेसनलको अनुगमनअनुसार स्वास्थ्यकर्मीहरूको अहिलेसम्म सबैभन्दा उच्च मृत्यु हुने देशहरूमा संयुक्त राज्य अमेरिका (५०७), रसिया (५४५), बेलायत (२६२ सामाजिक सेवाकर्मीहरू सहित ५४०), ब्राजिल (३५१), मेक्सिको (२४८), इटली (१८८), इजिप्ट (१११), इरान (९१), इक्वेडर (८२) र स्पेन (६३) रहेका छन् ।
'कम रिपोर्टिङ्ग भएका कारण यो सङ्ख्या वास्तविक तथ्याङ्कभन्दा एकदमै न्यून हुन पनि सक्दछ । त्यस्तै फरक फरक गिन्तिका कारण विभिन्न देशहरूबीचको वास्तविक तुलना गर्न पनि कठिन छ। उदाहरणका लागि फ्रान्सले केही अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट मात्र तथ्याङ्क लिएको छ भने इजिप्ट र रसियाका स्वास्थ्य सङ्गठनहरूले दिएको मृत स्वास्थ्यकर्मीहरूसम्बन्धी तथ्याङ्कलाई त्यहाँका सरकारहरूले सही नभएको भनी अस्वीकार गरेका छन्' विज्ञप्तिमा भनिएको छ।
नेपालमा हालसम्म कोरोना उपचारमा सक्रिमय कुनै पनि स्वास्थ्यकर्मीको मृत्यु भएको छैन। तर ९० जना भन्दा बढी स्वास्थ्यकर्मी भने संक्रमित भएका छन्। संक्रमितमध्ये केही निको भइसकेका छन् भने अरु सबैको अवस्था सामान्य छ।