काठमाडौं- ह्याण्ड स्यानिटाइजरको दर्ताका तीन महिना थप गरेको विरोधमा नेपाल औषधि उत्पादक संघले तेस्रो दिन पनि धर्ना दिएको छ।
स्यानिटाइजरको दर्ताका लागि तीन महिना थप गरेको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका संघले बुधबार पनि औषधि व्यवस्था विभागमा धर्ना दिएको हो।
सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्रि वितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्रि गर्न दिने निर्णय गरेको भन्दै संघ आन्दोलनमा उत्रिएका छन्। सरकारको ध्यानाकर्षण स्वरुप बुधबार पनि औषधि व्यवस्था विभागमा धर्ना दिएको संघका महासचिव विप्लव अधिकारीले बताए।
यसअघि संघले निर्णय सच्याउनुपर्ने भन्दै विभागमा पत्राचार समेत गरेको थियो। आफुहरुको माग सुनुवाई नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको संघले जनाएको छ। मन्त्री स्तरीय निर्णय गर्दै असार २२ गते स्यानिटाइजरको दर्ताको लागि तीन महिना समय थप गर्ने निर्णय गरेको थियो।
प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी सामग्रीहरुको उत्पादन र नियमनको हालसम्म कुनै पनि कार्यको थालनी नभएको संघले जनाएको छ। नियमन नहुँदा मास्क, निसंक्रमक, पिपिई, कस्मेमिक, खाद्य परिपूरक लगायत उत्पादन स्वदेशमै हुन सक्ने भएपनि विदेशबाट खरिद गरिएको महासचिव अधिकारीले बताए।
अवैध रुपमा र बिना दर्ता स्यानिटाइजर बिक्रि भइरहेको अवस्थामा दर्ता अनुमतिका लागि तीन महिना थप गर्न नहुने उनले बताए। सरकारले तीन महिना दर्ता प्रक्रियाका लागि समयावधी थप गर्दा जनताको स्वास्थ्य प्रति सरकार संवेदनशील नभएको संघको भनाई छ। सरकारले तीन महिना थप गर्दा अवैध रुपमा र विना दर्ता स्यानिटाइजर बनाउने काम बढ्न सक्ने उनले बताए।
विभागमा दर्ता भई स्वदेशमै उत्पादन हुने इथानोलको प्रयोग गरी करीब हाल ४० उद्योगहरुले स्यानिटाइजर उत्पादन गरिरहेका छन्। विभागले चैत ९ गते सूचना निकाली तीन महिना भित्र दर्ता प्रक्रियामा आउन आह्वान गरेको थियो। सूचना बमोजिम ४० वटा उद्योगले १ सय २० वटा स्यानिटाइजर उत्पादनका लागि दर्ता गरेको संघले जनाएको छ।
तत्काल आवश्यकता भएर नै स्यानिटाइजरको दर्ताका लागि तीन महिना थप गर्ने निर्णय भएको विभागका महानिर्देशक नारायण ढकालले बताए। संघले उठाएका विभिन्न मागहरु आफुहरुसँग मात्र नभई विभिन्न विभागसँग जोडिएको उनले बताए।
‘उहाँहरुले उठाउनु भएका मागहरु विभिन्न विभागसँग जोडिएका विषय छन्।’ उनले भने, ‘स्यानिटाइजर दर्ताको लागि म्याद थप्नु तत्कालको आवश्यकता हो।’