काठमाडौं- नेपालका २७ वटा सरकारी अस्पतालले न्यूनतम सेवा मापदण्ड पूरा नगरेको पाइएको छ। महालेखा परीक्षकको ५७औं वार्षिक प्रतिवेदन २०७७ ले २७ वटा अस्पतालले न्यूनतम सेवा मापदण्ड पूरा नगरेको जनाएको हो।
प्राइमरी तह ५० शय्यासम्मको ८३ वटा सरकारी अस्पतालको न्यूनतम सेवा मापन गर्दा ती २७ अस्पतालले न्यूनतम औसत अंक समेत प्राप्त नगरेको प्रतिवदेनमा उल्लेख छ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाले न्यूनतम सेवा मापदण्ड पूरा गरेको हुनुपर्छ। यसका लागि अस्पतालले पालना गर्ने न्यूनतम सेवा मापदण्ड २०७५ मा स्वीकृत समेत भएको छ।
उक्त मापदण्ड पालना भए/नभएको मापन गर्ने कामको जिम्मेवारी स्वास्थ्य सेवा विभागलाई तोकिएको छ। विभागले सरकारी अस्पतालको न्यूनतम सेवा मापदण्ड बमोजिम सञ्चालन भए/नभएको मापन गर्ने र मापन गर्दा व्यवस्थापन तथा क्लिनिकल सेवाको अंकभार न्यूनतम ६७ नल्याउनेलाई सुधार गर्न निर्देशन दिने उल्लेख छ।
अस्पतालहरुले न्यूनतम सेवा मापदण्ड समेत पूरा नगर्दा सरकारी अस्पतालको गुणस्तर कमजोर रहेको प्रतिवेदनमा उल्लेख छ। न्यूनतम सेवा मापदण्ड पूरा हुने गरी अस्पतालमा उपकरण, जनशक्ति, पूर्वाधार तथा औषधिको व्यवस्थापन गर्नुपर्ने आवश्यकता महालेखाले औंल्याएको छ।