काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका १, कोशी अस्पताल प्रयोगशालामा झापाका १ र मोरङका २, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जनामा कोरोना पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ८, नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका २, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुर र नुवाकोटका २/२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा किटजन्य रोग नियन्त्रण तथा तालिम केन्द्र प्रयोगशाला हेटौंडामा बाराका २, मकवानपुरका १ र नवलपरासी पूर्वका ३, रौतहटका ८ र सिन्धुलीका १ जनामा कोरोना पाइएको छ।
यस्तै, त्रिवि शिक्षण अस्पतालमा काठमाडौं र पाल्पाका १/१, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लमजुङका २२, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका ७, भेरी अस्पताल नेपालगञ्जमा बर्दियाका १०, दाङका ५ र रोल्पाका १३ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका १, चौरजहारी नगरपालिका पिसिआर प्रयोगशालामा सल्यान र रुकुम पश्चिमका १/१, डडेल्धुरा अस्पतालमा डडेल्धुरा, बझाङ र डोटीका १/१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा कोरोनाको आशंकामा ४ हजार ६ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। मुलुकभर हाल ५ हजार ८ सय ७१ जना अस्पतालको आईसोलेसन र २२ हजार ७ सय ५६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।