काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ। गत २४ घण्टामा मात्र १ सय ८६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा २७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा १ सय ८६ जना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरीका २, कोशी अस्पताल विराटनगरमा झापाका १, सुनसरीका ४ र इलामका १ जनामा कोरोना भेटिएका छन्।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ र झापाका २, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सिरहाका १ र सप्तरीका ९, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २ जनामा कोरोना पुष्टि भएको छ।
नारायणी अस्पताल वीरगञ्जमा पर्साका ४ र बाराका ४६, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २, सर्लाहीका २३ र सोलुखुम्बुका ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा पाटन अस्पताल ललितपुरमा ललितपुरका १, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कास्कीका ८ र लमजुङका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा तनहुँका २ र स्याङजाका १ जनामा कोरोना पाइएको छ।
भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका २, रोल्पाका ४, सल्यानका २, रुकुम पूर्वका ७ र दाङका ५, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दाङका १ जनामा कोरोना भेटिएको प्रवक्ता गौतमले जानकारी दिए।
रियल टाइम पिसिआर प्रयोगशाला दैलेखमा दैलेखका १, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा दैलेख, सल्यान, हुम्ला र कालिकोटका १/१ र सुर्खेतका ४ जनामा कोरोना भेटिएको छ।
मन्त्रालयका अनुसार डडेल्धुरा अस्पताल प्रयोगशालामा डोटीका ४०, सेती प्रादेशिक अस्पताल धनगढीमा कैलालीका १ जनामा कोरोना पुष्टि भएको छ।
कोरोनाको आशंकामा गत २४ घण्टामा ४ हजार २ सय १६ जनाको पिसिआरबाट परीक्षण गरिएको छ। मुलुकभर हाल ५ हजार ९ सय ३६ जना अस्पतलाको आईसोलेसन र २२ हजार २ सय २८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।