फाइल तस्बिर
बुटवल- प्रदेश ५ सरकारले समुदाय स्तरमा कोरोना भाइरसको सक्रमणको अवस्था पत्ता लगाउन भिडभाड बढी हुने क्षेत्रका व्यक्तिको पिसिआर परीक्षण गर्ने भएको छ।
प्रदेश सरकारले ६ जिल्लाबाट स्वाब संकलन गर्दै परीक्षण गर्न लागेको हो। परीक्षणको काम आजबाट सुरु हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ।
समुदायस्तरसम्म कोरोना भाइरस फैलिएको वा नफैलिएको पत्ता लगाउनका लागि अधिक जनसम्पर्क हुने स्थानमा रहेका व्यक्तिबाट नमुना संकलन कार्य शुरु गर्न लागिएको हो।
मन्त्रालयका अनुसार बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी र जनसमुदाय स्तरका १ हजार २ सय व्यक्तिको नमुना संकलन गरिनेछ। अर्घाखाँची, नवलपरासी पश्चिम, रूपन्देही, बर्दिया, कपिलवस्तु र दाङमा नमुना संकलन हुने छ।
प्रदेश ५ मा मंगलबार बिहानसम्म ४ हजार ९९ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये ३ हजार ७ सय ७१ जना संक्रमणमुक्त भएका छन्। १३ जना संक्रमितको मृत्यु भइसकेको छ।