काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट नेपाल फर्किने व्यक्तिहरुका लागि होम क्वारेन्टाइनमा बस्नका लागि मापदण्ड बनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ‘होम क्वारेन्टिन सम्बन्धि मापदण्ड २०७७’ जारी भएको जानकारी दिए।
मन्त्रालयले कोभिड— १९ देशबाट नेपाल फर्किने व्यक्तिहरुले घरमा तोकिएको मापदण्ड पुरा होम क्वारेन्टाइनमा बस्न सक्ने जनाएको छ।
सम्बन्धित अधिकारीले होम क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई स्थानीय निकायको सहमति र प्रत्यक्ष निगरानीमा रहने गरी १४ दिन होम क्वारेन्टाइनमा पठाउने सक्ने मापदण्डमा उल्लेख छ।
होम क्वारेन्टाइनमा पालना गर्नुपर्ने मापदण्ड यस्तो छः
१) भौतिक पुर्वाधारः
क) हावा खेल्ने तथा पर्याप्त प्रकाश आउने छुट्टै कोठामा बस्ने व्यवस्था भएको हुनु पर्ने,
ख) सकेसम्म स्नानघर/शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिकरूपमा प्रयोग गर्नु पर्ने अवस्था भएमा प्रत्येक प्रयोग पछि सरसफाइमा प्रयोग हुने disinfectant ले राम्रो सँग सफा गरे पश्चात् मात्रै अन्य सदस्यले प्रयोग गर्ने व्यवस्था मिलाउने।
२) पालना गर्नु पर्ने जनस्वास्थ्यका मापदण्डहरू:
क) भौतिक दूरी (S): घरका सदस्यहरू वा आफन्त सँग भेटघाट गर्दा २ मिटरको दूरी अनिवार्य रूपमा कायम गर्ने।
अत्यावश्यक अवस्थामा बाहेक कसैसँग भेटघाट नगर्ने। मास्कको प्रयोग (M): क्वारेन्टिनमा बस्ने व्यक्ति र निजको परिवारका सदस्यले भेटघाट वा कुराकानी गर्दा अनिवार्य रूपमा मेडिकल मास्क वा ३ तहको कपडाको मास्क प्रयोग गर्ने। कपडाको मास्क प्रयोग गर्दा प्रयोग पश्चात् धोएर राम्रो सँग सुकाए पछि मात्रै पुन: प्रयोग गर्ने।
हत धुने वा स्यानिटाइज (s): समय समयमा साबुनपानीले हात धुने वा अल्कोहलयुक्त स्यानीटाईजर प्रयोग गर्ने (S)।
आधारभूत मापदण्डहरू: •
अनावश्यक वस्तु तथा सतहहरू नछुने,
अनुहारको टी क्षेत्र – आँखा, नाक र मुखलाई अनावश्यक रूपमा नछुने,
खोक्दा वा हाछ्यु गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त सम्भव नभएमा कुहिनाले छोप्ने,
थाभाबी नथुक्ने,
सम्भव भएसम्म पैसाको कारोबार गर्दा विधुतिय कारोबार गर्ने,
प्रयोग गरिएका भाँडाहरू सुरक्षित रूपले सफा गर्ने र राम्रो सँग सुकेपछि मात्रै पुनःप्रयोग गर्ने,
हात धुने बेसिनहरु संक्रमणको श्रोत हुनसक्ने भएकोले दाँत माझ्ने ब्रस लगायतका समानहरू राख्न छुट्टै बेसिनको प्रयोग गर्ने, धेरै प्रयोग हुने चीजहरू जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने,
हात धुने साबुन र पानीको उचित व्यवस्था गर्ने र सबै सदस्यहरूले समय समयमा साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म मिचीमिची हात धुने।
३) आवश्यक सामग्रीहरूको व्यवस्था सम्बन्धमा:
क) क्वारन्टिन अवधिभर अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कने। आवश्यक पर्ने खाद्यपदार्थ लगायतका सामग्रीहरू परिवारका अन्य सदस्य, छिमेकी वा आफन्तहरू मार्फत मगाउने,
ख) नजिकको पसलबाट फोन वा अनलाइन सेवा मार्फत अर्डर गरी आवश्यक सामग्रीहरू धेरै दिनका लागि एकैपटकमा मगाउने।
४) शारीरिक तथा मानसिक स्वास्थ्य सम्बन्धमा:
क) आफूलाई सक्रिय राख्न, पुस्तकहरू पढ्ने, रेडियो सुन्ने वा टिभी हेर्ने तर शारिरिकरूपले निष्कृयहुने समयलाई सीमित राखि योगा तथा अन्य शारीरिक व्यायामहरू गर्ने
ख) नकारात्मक र भ्रमपुर्ण समाचारहरूबाट टाढा बस्ने। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्य आधिकारिक निकायहरूबाट जारी गरिएका जानकारी तथा सूचनाहरू लिने।
ग) कुनै डर वा भ्रम वा जिज्ञासा भएमा नेपाल सरकारले तोकेको हटलाइन (११३३) वा मनोपरामर्श केन्द्रहरूमा फोन मार्फत सम्पर्क गरी परामर्श र सही सूचना लिने।
५) जोखिम समूहको सुरक्षा सम्बन्धमा:
क) बढी जोखिममा रहने समूहहरू जस्तैः दीर्घरोगीहरू (उच्च रक्तचाप, मुटु रोगी, दम वा श्वासप्रश्वास सम्बन्धी समस्या, क्यान्सर, मृगौला रोग लगायतका स्वास्थ्य समस्या भएका आदि), ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरूलाई संभावित संक्रमितको सम्पर्कबाट टाढा राख्ने र संभव भएसम्म छट्टै कोठामा राख्ने,
ख) बढी जोखिममा रहने समूहहरूको पोषण, औषधि, बिशेष स्याहार लगायतका ब्यवस्था परिवारका अन्य सदस्यहरूले गर्नुपर्दछ।
६) फोहोर व्यवस्थापनः
क) क्वारेन्टिनमा बसेका व्यक्तिले विसर्जन गरेका वस्तु तथा सामग्रीहरू (टिस्यु पेपर,कागतपत्र आदिको) उचित तवरले छुट्टै विसर्जन गर्नु पर्नेछ। सम्भव भए सम्म यसप्रकारका फोहोर करेसाबारी वा बगैचामा खाल्डो खनेर पुर्न उपयुक्त हुन्छ।