काठमाडौं- सरकारले आजदेखि लकडाउन अन्त्य गरेको छ। साउन ६ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्ने निर्णय गरेको हो।
लकडाउन अन्त्य भएपनि सुरक्षाका उपाय अपनाउनु पर्ने र केही निश्चित सेवा भने संचालन नहुने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन्।
भदौ १ गतेबाट लागू हुने गरी सरकारले विद्यार्थी भर्ना खुला गर्ने तर विद्यालय सञ्चालन भने नगर्ने निर्णय गरेको छ।
सरकारले लकडाउन अन्त्य गर्ने निर्णयमा लकडाउन र कोरोनासँग सम्बन्धित स्वास्थ्यका ११ वटा निर्णय पनि गरेको छ।
हेरौं निर्णय
विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा देहायबमोजिम गर्ने गराउने गरी संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम देहायको आदेश जारी गर्ने। सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने।
१. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७६ चैत ९ गतेको निर्णयअनुसार मिति २०७६ चैत ११ गतेदेखि शुरू भई विभिन्न मितिमा हेरफेर तथा थपघटसहित नेपालभर लागू रहेको बन्दाबन्दी (लकडाउन) सम्बन्धी व्यवस्था मिति २०७७ साउन ६ गते मङ्गलबार (तदनुसार २०२० जुलाई २१) मध्यरात पछि अन्त्य गर्ने। नेपालभर लागू रहेको बन्दाबन्दी (लकडाउन) सम्बन्धी व्यवस्था बाहेक कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत कायम राख्ने।
२. जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेका मापदण्डबमोजिम हुनेगरी देहायका सेवा तथा कार्यहरू मिति २०७७ साउन १५ गतेदेखि सञ्चालन गर्ने:(क) होटल, रेष्टुरेण्ट (सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेला हुने बाहेक) । (ख) ट्रेकिङ्ग, ट्राभल, पर्वतारोहणलगायत पर्यटन व्यवसाय ।
३. जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गर्ने गरी देहायका सेवा तथा कार्यहरू मिति २०७७ भदौ १ गतेदेखि देहायबमोजिम सञ्चालन गर्ने:(क) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुनेगरी छोटो, मध्यम र लामो दूरीमा जिल्लाभित्र तथा अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरू; (ख) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको मापदण्डबमोजिम हुनेगरी सो मन्त्रालयले तोकेका आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यावसायिक तथा अन्य उडानहरू; (ग) अन्तर्राष्ट्रिय खेलकूदका प्रशिक्षण तथा प्रारम्भिक चरणका खेल; (घ) विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन।
४. देहायबमोजिमका सेवा र कार्यहरू अर्को सूचनाबाट तोकिएको मितिदेखि सञ्चालन गर्ने:(क) शैक्षिक संस्थाहरू (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम (ख) सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार; (ग) सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, (घ) सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जन स्थल, (ङ) सैलुन, ब्युटीपार्लर तथा स्पा; (च) स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब (छ) समूहमा खेलिने खेलकुद र खेलमैदानमा हुने प्रस्तुति; (ज) सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल;
(झ) पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना।
५. सबै प्रकारका सेवा तथा कार्यहरू सञ्चालन गर्दा दुई मिटरको सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने, पटकपटक साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नेलगायतका जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड अनिवार्य रूपमा पालना गरी सेवा र कार्यहरू सञ्चालन गर्ने।
६. व्यवसायीहरूले औषधी र औषधीजन्य सामग्रीहरूको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानूनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने।
७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सो कार्य गर्दा आवश्यकताअनुसार स्थानीय प्रशासन ऐन, २०२८ कोसमेत प्रयोग गर्ने।
८. संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पुयाउने व्यक्तिलाई सोहि ऐनबमोजिम सजाय हुने।
९. उपर्युक्त सेवा तथा कार्य सञ्चालन गर्दा सम्बन्धित मन्त्रालयले जनस्वास्थ्य र सुरक्षा मापदण्डका आधारमा आ-आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषयहरूको सम्बन्धमा आवश्यक प्रोटोकल जारी गरी लागू गर्नुपर्नेछ। परिस्थितिको समीक्षा एवं संक्रमणको जोखिम विश्लेषणका आधारमा उल्लिखित व्यवस्थामा आवश्यक हेरफेर एवं थपघट गर्न सकिनेछ।
१०. विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड-१९ रोगको संक्रमणबाट सुरक्षित रहनका लागि छिमेकी मित्रराष्ट्रहरू लगायत अन्य मित्रराष्ट्रहरूले चालेका प्रयास र अनुभवसमेतलाई ध्यानमा राखी यस क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई सो रोगको संक्रमणबाट सुरक्षित राख्न नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन २०७७ साउन ६ गते मङ्गलबार मध्यरातसम्मका लागि स्थगित गरिएकोमा हाललाई मिति २०७७ साउन ३२ गते आइतबार (तदनुसार २०२० अगष्ट १६) मध्यरातसम्मका लागि नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सवै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने गरी निरन्तरता दिने। तर, नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७/२/१२ को निर्णयबमोजिम जारी भएको "कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७" बमोजिम स्थल मार्गबाट नेपाल प्रवेश गर्न तोकिएका विन्दबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम राख्ने। यो आदेशको पालना नगरी सीमा नाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसहरूलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारबाही गर्ने।
११. विश्वव्यापी महामारीको रूप लिएको कोभिड-१९ को संक्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि हो। हालसम्म यो आदेशको पालना गरी साथ दिनुभएकोमा नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथै, संक्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेश र नेपालको अन्तर्राष्ट्रिय सीमानामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश विन्दु र खुल्ला सीमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुहरूको आवागमन स्थगित गर्ने कार्यको पूर्ण पालना गरी गराई सहयोग पुर्याउनु हुन नेपाल सरकार सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आग्रह गर्दछ ।