काठमाडौं– विराटनगरमा कोरोना पोजिटिभ एक संक्रमित सम्पर्क बाहिर छन्। विराट नर्सिङ होमका नाममा परिचित विराट अस्पतालको लापरबाहीका कारण ती बिरामी सम्पर्क बाहिर भएका हुन्।
विराट अस्पतालले कोरोनाको शंकास्पद बिरामीको स्वाब संकलन गरी आइसोलेसनमा नराखी र शंकास्पदको ठेगाना सहितका आवश्यक विवरण राम्रोसँग नराख्दा समस्या आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रोटकल अनुसार निजी अस्पतालले कोरोनाको शंका लागेका व्यक्तिलाई अनिवार्य रुपमा आइसोलेसनमा राख्नुपर्ने हुन्छ। त्यसपछि सरकारले तोकेको प्रयोगशालामा सम्पर्क गर्दै स्वाब शंकलन गर्ने लगाएतका प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ।
सो क्रममा उक्त अस्पतालले शंकास्पद व्यक्तिको नाम, फोन नम्बर, ठेगाना लगायतका सबै विवरण संकलन गरेको हुनुपर्छ। शंकास्पद व्यक्तिको प्रयोगशाला परीक्षणको रिपोर्ट आएपछि पोजिटिभ भए कोरोना उपचार गर्ने अस्पताल वा सरकारले तोकेको अन्य कुनै कोरोना आइसोलेसन सेन्टरमा पठाउनुपर्ने हुन्छ।
तर, विराट अस्पतालले १०१ ज्वरो आएका शंकास्पद व्यक्तिको स्वाब शंकलन गरेर घर पठाउँदा समस्या आएको हो। यतिमात्र नभई अस्पतालले ती शंकास्पदको ठेगाना समेत राम्रोसँग नराख्दा समस्या आएको हो।
अस्पतालले स्वाब संकलन गरेर कोशीस्थित प्रयोगशालामा पठाएको थियो। प्रयोगशाला परीक्षणका क्रममा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ। ती व्यक्तिको ठेगानामा अस्पतालले विराटनगर, मोरङ मात्र उल्लेख गरेको पाइएको छ।
प्रयोगशालाले बुधबार बिहान १० बजेर ५५ मिनेटमा विराटनगर महानगरपालिकाका कोभिड टिम सुपरभाइजर हैदर अलीलाई महानगरमा तीन जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएको थियो। प्रयोगशालाले दिएको जानकारी अनुसार सुपरभाइजर अली र उनको टिमले अन्य दुई जनालाई पत्ता लगाए पनि एक जना भने अझै पत्ता लाग्न सकेका छैनन्।
‘उहाँको ठेगानामा प्रष्ट विवरण नै उल्लेख गरिएको रहेनछ,’ अलीले स्वास्थ्यखबरसँग भने, ‘हामी त बिहानदेखि खोज्दाखोज्दा हैरान भइसकेका छौं। ती संक्रमित समाजमा कहाँकहाँ पुगे होलान्? अरु कति जनालाई सर्ने होला?’
उनले ती संक्रमितको मोबाइल नम्बरमा सम्पर्क गर्दा आगमन कल निषेध भनिरहेको पनि जानकारी दिए।
विराट अस्पतालका एक कर्मचारीले बिरामीको मोबाइल नम्बर भएका कारण अन्य ठेगाना नलेखेको बताए। उनले शंकास्पद बिरामीलाई आइसोलेसनमा नराखी घर पठाउनु गलत भएको भने स्वीकार गरे।