काठमाडौं– चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोना संक्रमित एक महिलाको क्यान्सरको सफल शल्यक्रिया गरिएको छ।
डा अनिलविक्रम कार्कीको नेतृत्वमा डा सदीक्षा अधिकारी, डा रोबिन भट्ट, डा भावना वाग्ले र नर्सहरु एन्जल कालाखेती, सरस्वती गुरु सहितको टोलीले कोरोना संक्रमित महिलाको मुखको क्यान्सरको शल्यक्रिया गरेको हो। मंगलबार सम्पन्न शल्यक्रिया गर्न करिब ५ घण्टाको समय लागेको उपचारमा संलग्न डा कार्कीले जानकारी दिए।
राजविराजकी ६२ वर्षीया ती महिला मुखको क्यान्सर उपचारका लागि अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रिया गर्नुअघि गरिएको नमुना परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको थियो।
डा कार्कीका अनुसार सबै सुरक्षाको उपाय अपनाएर ती महिलाको शल्यक्रिया गरिएको हो। ‘कोरोनासँग डराएर बिरामीको उपचार रोक्नु हुँदैन,’ उनले भने, ‘हामीले पनि उच्च सतर्कता अपनाउँदै उनको उपचार गरेका हौँ।’
उनका अनुसार कोरोनाको भाइरस थुक तथा र्यालका छिटाबाट सर्ने र ती महिलाको पनि मुखको क्यान्सरको उपचार गर्नु पर्ने हुँदा धेरै जोखिम थियो। तर, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले सबै सुरक्षाको उपाय अपनाउँदै शल्यक्रिया गरिएको हो।


