काठमाडौं- वीरगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको अस्थाई कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज- ६, माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या देखिएका उनी साउन ६ गते बिहान अस्पताल भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनकुमार उपाध्यायले बताए। अस्पताल भर्ना भएकै दिन साँझ ६ बजे उनको मृत्यु भएको उनले जानकारी दिए।
उनले भने, ‘उहाँलाई ५ गतेदेखि श्वासप्रश्वासमा समस्या देखिएका कारण विभिन्न क्लिनिक जानु भएको रहेछ। त्यहाँबाट उहाँलाई यहाँ पठाइएको थियो।’
उनमा कुनै पनि पुरानो दीर्घरोगको समस्या नरहेको अस्पतालले जनाएको छ। मृत्यु भएपछि उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। बुधबार राति परीक्षणमा उनको कोरोना पुष्टि भएको डा उपाध्यायले बताए।