काठमाडौं– लकडाउन अन्त्य भएसँगै देशका विभिन्न जिल्लाबाट उपत्यका आउने मानिसको संख्या बढेसँगै कोरोना भाइरस संक्रमितको संख्या बढी रहेको छ।
इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो समय तराईका विभिन्न जिल्लाहरुबाट उपत्यकामा आउने व्यक्तिमा संक्रमण देखिएको हो। ‘अहिले उपत्यकामा देखिएका संक्रमित बाहिर जिल्लाबाट आएका नै धेरै हुन्,’ महाशाखाका एक कर्मचारीले भने, ‘कतिपय संक्रमित उपत्यकामा व्यापार गर्ने भारतीयहरु पनि छन्।’
इन्द्रचोकमा व्यापार गर्ने स्थानीय व्यापारीले लकडाउन सुरुभएसँगै भारत गएका व्यापारी लकडाउन खुलेसँगै काठमाडौँ आउने क्रम बढेको र उनीहरु पैसा खुवाएर क्वारेन्टाइनमा समेत नबसी पसल खोल्ने थालेको गुनासो गरेका थिए।
महाबौद्ध क्षेत्रमा बुधबार २ जना व्यापारीलाई संक्रमण देखिएको छ। यसअघि उक्त क्षेत्रका ५ जनामा संक्रमण भटिएको थियो।
बुधबार ७ बजेसम्म उपत्यकमा २० जना संक्रमित थपिएका छन्। जसमध्ये ९ जना प्रहरी भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालका ९ सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको हो।
त्यसबाहेक चन्द्रागिरी, बाँसबारी, भोटाहिटी, सामाखुसी, स्वयम्भू, ओमबहाल, कुलेश्वर र भक्तपुर नगरपालिका लगायतका क्षेत्रमा पनि संक्रमित भेटिएका छन्।
मंगलबार पनि उपत्यकामा ५२ जना संक्रमित भेटिका थिए। हालसम्म उपत्यकामा संक्रमितको संख्या ४९६ पुगेको छ।