डा रोजित श्रेष्ठ र डा पूजा न्यौपाने
कोरोना महामारीलाई नियन्त्रणमा राख्न कोभिड-१९ को निदानको लागि गरिने प्रयोगशाला परीक्षणको भूमिका निकै महत्वपूर्ण हुन्छ। किनकि त्यसैका आधारमा बिरामी पहिचान गरी आइसोलेसन गर्न सकिन्छ।
नेपाल सरकारले गत साउन ७ गतेबाट लागू हुने गरी लकडाउन खुला गरेको छ। यस्तो अवस्थामा विस्तृत परीक्षणको अझबढी महत्त्व हुन्छ। नेपालमा कोरोना भाइरसको लागि पिसिआर र गरी दुई किसिमका प्रयोगशाला परीक्षण प्रयोगमा छन्। तर पिसिआर विधि प्रयोग गरी आरएनए (आनुवंशिक तत्व) पत्ता लगाई गरिने परीक्षणले मात्र कोभिड-१९ को निदान गर्न सकिन्छ।
नेपालले गत वर्षको माघ ११ गते कोभिड-१९ को पहिलो घटना रिपोर्ट गरेको थियो। त्यो बेला हामीसँग कोरोना भाइरस (सार्स-कोभ-२) को परीक्षण गर्ने प्रयोगशाला नभएकोले, नमुनालाई हङकङ पठाइएको थियो। विगत ६ महिनामा कोभिड-१९ को प्रयोगशाला परीक्षणमा महत्वपूर्ण प्रगतिहरु भएका छन्। प्रारम्भमा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सुरु भएको कोभिड-१९ को प्रयोगशाला परीक्षण हालै देशभरि विस्तार भएको छ। अहिले नेपालमा दुई दर्जनभन्दा बढी प्रयोगशाला कोभिड-१९ को पिसिआर टेस्ट गर्न सक्ने अवस्थामा छन्। हालसम्म नेपालमा ३ लाखभन्दा बढी पिसिआर परीक्षण भएका छन्, जसबाट १७,००० को हाराहारीमा कोभिड-१९ का केसहरू पुष्टि भइसकेका छन्। त्यति नै संख्यामा आरडिटी (एन्टिबडी परीक्षण) गरिएको पाइन्छ तर यस परीक्षणको डायग्नोस्टिक भ्यालु भने खासै छैन।
कोरोना भाइरस एक आरएनए भाइरस हो। पिसिआर विधिमा नमुनामा रहेका कोरोना भाइरसको आरएनए पहिचान गरिन्छ। कोभिड-१९ को निदानको लागि पिसिआर विधि अहिलेको एक मात्र विश्वसनीय प्रयोगशाला परीक्षण हो। श्वासप्रश्वास प्रणालीमा यस भाइरसले आफ्नो संख्या वृद्धि गर्ने हुँदा, श्वास प्रणालीको माथिल्लो भागबाट निकालिने नेजोफ्यारेन्जियल स्वाब र ओरोफ्यारेन्जियल स्वाब अथवा तल्लो श्वास नलीबाट आउने खकार जस्ता नमुनामा कोरोना भाइरसको आरएनए परीक्षण गर्न सकिन्छ। सामान्यतया संक्रमण भएको २–५ दिनभित्रै पिसिआर पोजिटिभ देखिन्छ (चित्र हेर्नुहोस्)। यस्तो प्रारम्भिक चरणमै संक्रमण पत्ता लगाउनसके कोभिड–१९ महामारी नियन्र्(ण प्रभावकारी हुन्छ। तर पिसिआर परीक्षण प्राविधिक रूपमा जटिल र धेरै महँगो विधि हो। त्यसैले यो व्यापक रूपमा उपलब्ध छैन।
कोभिड-१९को पिसिआर परीक्षणबारे थप जानकारीको लागि २०७७ जेठ ५ को स्वास्थ्यखबरमा प्रकाशित हाम्रो लेख पढ्नुहोस् : कोरोना भाइरसको प्रयोगशाला परीक्षण : महत्व, सीमितता र भ्रम
यस महामारीलाई नियन्त्रण गर्न परीक्षणको दायरा बढाउनुको विकल्प छैन। तर प्राविधिक जटिलता, आर्थिक बोझ, खर्चिलो स्रोतसाधन र दक्ष प्रयोगशालाकर्मीको आवश्यकतालाई ध्यानमा राख्दै पिसिआर परीक्षणलाई देशैभरि विस्तार गर्न भने असम्भव छ। र, यसलाई लामो समयसम्म निरन्तरता दिन अझै चुनौतीपूर्ण हुनेछ। अहिले कतिपय गाउँपालिका जहाँ हेमोग्लोबिन जस्ता आधारभूत प्रयोगशाला जाँच गर्न संघर्ष गरिरहेका छन्, त्यहाँ पिसिआर ल्याब स्थापना गर्न अग्रसर भइरहेको पाइन्छ। यो आर्थिक रुपले अव्यावहारिक छ। तसर्थ, प्रभावकारी र आर्थिक रूपमा दिगो वैकल्पिक डायग्नोस्टिक परीक्षण आजको आवश्यकता हो।
नेपाल सरकारले आरडिटीलाई वैकल्पिक परीक्षणको रुपमा अगाडि सारेको थियो। जब कोरोना भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ, तब हाम्रो प्रतिरक्षा प्रणालीले यस संक्रमणविरुद्ध लड्न एन्टिबडी उत्पादन गर्न थाल्छ। आरडिटी टेस्टमा यस्ता एन्टिबडीको पहिचान गरिन्छ। तर संक्रमित व्यक्तिलाई यस्ता एन्टिबडीको उत्पादन गर्न १-२ हप्तासम्म समय लाग्छ। एन्टिबडी विकास हुनुको मतलब बिरामी निको हुने क्रममा छ भन्ने हो र यस समयमा यस्ता बिरामीले अरुलाई रोग सार्ने सम्भावना निकै कम हुन्छ। त्यसैले महामारीको नियन्त्रणमा आरडिटीको भूमिका खासै प्रभावकारी हुँदैन।
आरडिटी परीक्षणको सीमितताको बारेमा थप जानकारी पाउन जेठ१७ गते स्वास्थ्यखबरमा प्रकासित हाम्रो लेख पढ्नुहोस् : कोरोना परीक्षण : आरडिटी पोजिटिभ हुँदा पिसिआर किन नेगेटिभ?
अब लागौं हाम्रो मूल विषयतर्फ- एन्टिजेन परीक्षण।
के हो त एन्टिजेन परीक्षण?
कोरोना भाइरसको आरएनएलाई प्रोटिन क्याप्सुलले ढाकिएको हुन्छ (चित्र हेर्नुहोस्)। यसमा धेरै प्रकारका प्रोटिनहरू हुन्छन् जसले भाइरसको आरएनएलाई सुरक्षित गर्छ र भाइरसलाई मानव कोषहरूभित्र पस्न मद्दत गर्छ। जब यो भाइरस हाम्रो शरीरमा प्रवेश गर्छ, हाम्रो प्रतिरक्षा कोषहरूले यी प्रोटिनहरूलाई पहिचान गर्न सक्दैन। त्यसैले यस्ता प्रोटिनलाई नष्ट गर्न प्रतिरक्षा प्रणालीले एन्टिबडी लगायत विभिन्न रसायनहरू उत्पादन गर्छ। कुनै तत्व जसलाई हाम्रो प्रतिरक्षा प्रणालीले चिन्दैन र फरेन बडीको रुपमा लिन्छ, त्यसलाई एन्टिजेन भनिन्छ। अर्को शब्दमा फरेन बडी (प्रायजसो प्रोटिन) जसले प्रतिरक्षा प्रणालीलाई उत्तेजित गर्छ, त्यसलाई एन्टि-जेन (एन्टिबडी जेनरेटर) भनिन्छ। यी भाइरल प्रोटिन पनि त्यसैले एन्टिजेन हो।
नमुनामा यस्ता भाइरल एन्टिजेनको पहिचान गर्न सके उक्त नमुनामा कोरोना भाइरस छ भन्ने संकेत गर्छ। यसरी गरिने परीक्षणलाई एन्टिजेन टेस्ट भनिन्छ। यस परीक्षणका लागि पिसिआर टेस्टमा जस्तै नेजोफ्यारेन्जियल स्वाब र ओरोफ्यारेन्जियल स्वाबलाई नमुनाको रुपमा संकलन गरिन्छ। तर पिसिआर र एन्टिजेन टेस्टको भिन्नता चाहिँ के छ भने पिसिआर विधिमा कोरोना भाइरसको आनुवंशिक तत्व (आरएनए) को उपस्थिति पत्ता लगाइन्छ भने एन्टिजेन टेस्टमा चाहिँ कोरोना भाइरसको प्रोटिनको टुक्राको पहिचान गरिन्छ।
यस्तै प्रकारका परीक्षणहरू अन्य श्वासप्रश्वास सम्बन्धी रोगहरू जस्तै इन्फ्लुएन्जा र स्ट्रेप्टोकोकल संक्रमणको निदानको लागि नियमित रूपमा प्रयोगमा छ। एन्टिजेन पत्ता लगाएर गरिने विधि प्रयोगशालाका थुप्रै परीक्षणहरुमा अपनाएका हुन्छन्। जसमा रगतमा गरिने हेपाटाइटिस बीदेखि पिसाबमा गरिने प्रिग्नेन्सी टेस्टहरु पर्छन्। त्यसैले कोरोनाको एन्टिजेन परीक्षण निकै सजिलो र कम खर्चिलो हुन्छ र यसलाई देशैभरिको प्रयोगशालामा प्रयोगमा ल्याउन सकिन्छ।
कसरी गरिन्छ त एन्टिजेन परीक्षण?
यो परीक्षण कोरोना भाइरस संक्रमण तीव्र चरणको बेला माथिल्लो श्वासप्रश्वास प्रणालीमा रहेका भाइरल प्रोटिन (एन्टिजेन) पत्ता लगाउन गरिन्छ। त्यसैले यो परीक्षण गर्दा पिसिआर परीक्षणमा गरेजस्तै नेजोफ्यारेन्जियल स्वाब अथवा ओरोफ्यारेन्जियल स्वाब नमुनाको रूपमा प्रयोग गरिन्छ। संकलन गरिएका स्वाबलाई एक तरल पदार्थमा डुबाइ नमुनाबाट भाइरसको टुक्राहरु रिलिज गरिन्छ अनि उक्त तरल पदार्थको एक थोपा टेस्ट किटमा राखिन्छ (चित्र हेर्नुहोस्)। यदि नमुनामा भाइरल एन्टिजेन छ भने यसले टेस्ट किटमा भएको एन्टिबडीसँग रियाक्सन गर्छ र एन्टिजेन-एन्टिबडी कमप्लेक्स बन्छ।
यस्ता एन्टिबडीलाई विशेष रूपले परिमार्जन गरी यसको रङ आँखाले देख्न सक्ने बनाइएको हुन्छ। उक्त एन्टिजेन-एन्टिबडी कमप्लेक्स बगेर टेस्ट रेखासम्म पुग्छ। टेस्ट रेखामा अर्को एन्टिबडीहरु राखिएको हुन्छ जसले एन्टिजेन-एन्टिबडी कमप्लेक्सलाई बाँधेर राख्छ। त्यसैले यदि नमुनामा एन्टिजेन छ भने टेस्ट लाइनमा एउटा रातो धर्का देख्न सकिन्छ र यसलाई पोजिटिभ भनिन्छ। यदि नमुनामा भाइरस छैन भने टेस्ट रेखामा कुनै पनि रङ देखिँदैन र यसलाई नेगेटिभ भनिन्छ। टेस्टलाई वैधानिकता दिन भने कन्ट्रोल रेखामा रातो धर्का देखिनै पर्छ। यसरी गरिने र्यापिड एन्टिजेन टेस्टको नतिजा आउन केवल १०-१५ मिनेट मात्र लाग्छ। र्यापिड एन्टिजेन टेस्ट बाहेक Enzyme Immuno Assay (ELISA) तथा Chemiluminescence Assay (CLIA) जस्ता विधिहरु प्रयोग गरी नमुनामा भएका एन्टिजेनको वास्तविक मात्रा मापन गर्न पनि गर्न सकिन्छ।
एन्टिजेन परीक्षणका फाइदा
कोभिड-१९ को निदानको लागि हाल पिसिआरलाई मानक मानिए पनि एन्टिजेन परीक्षणका थुप्रै फाइदा छन्। पिसिआरको तुलनामा एन्टिजेन परीक्षणको नतिजा धेरै छिटो आउँछ। यसले १०-१५ मिनेटमै नतिजा दिन सक्छ। त्यसैले अहिलेको जस्तै नतिजा आउन कैयौं दिन कुर्नुपर्ने समस्याबाट मुक्ति दिन्छ। पिसिआरको तुलनामा एन्टिजेन परीक्षण निकै कम खर्चिलो हुन्छ। यसलाई पिसिआर परीक्षणमा चाहिने महँगो उपकरण र रिजेन्टहरूको आवश्यकता पर्दैन।
पिसिआर परीक्षण जटिल अनि मल्टि-स्टेप विधि हो र उक्त परीक्षण गर्न दक्ष प्रयोगशालाकर्मी र उच्च प्रविधियुक्त प्रयोगशाला आवश्यक हुन्छ। तर र्यापिड एन्टिजेन परीक्षण भने जसले जता पनि गर्न सकिन्छ। महत्त्वपूर्ण कुरा चाहिँ, यो परीक्षण नमुना संकलन गरेको साइट जस्तै डाक्टरको क्लिनिक, आपतकालीन कक्ष, बिरामीको वार्ड, क्वारेन्टिन सेन्टर, एयरपोर्ट अनि घरमै पनि गर्न सकिन्छ। त्यसैले यस परीक्षणले बिरामीहरुलाई द्रुत गतिमा पहिचान गर्न मद्दत गर्छ। यसरी व्यापक रुपमा गरिने परीक्षणले फलस्वरूप कोभिड-१९ प्रकोप नियन्त्रण गर्न प्रभावकारी भूमिका खेल्न सक्छ।
एन्टिबडी परीक्षण (आरडिटी) को तुलनामा एन्टिजेन परीक्षण निकै प्रभावकारी हुन्छ किनभने पोजिटिभ एन्टिजेन नतिजाले हालको (सक्रिय) संक्रमणतर्फ संकेत गर्छ। त्यसकारण, यो अस्पतालको वार्ड र आपतकालीन कक्षमा अत्यन्तै मूल्यवान डाइग्नोस्टिक परीक्षण हो। यसले कोभिड-१९ छिटो पहिचान गर्न मद्दत गर्छ ताकी संक्रमित व्यक्ति समयमै अइसोलेसन अनि उपचार गर्न सकिन्छ।
हाल एन्टिजेन टेस्ट नेजोफ्यारेन्जियल स्वाब जस्ता नमुनामा प्रयोग गरिने भए पनि भविष्यमा थुक नमुनामा गरिने टेस्ट विकसित हुने सम्भावना प्रबल छ। यस्तो परीक्षण जो कोहीले जहाँ पनि गर्न सकिन्छ। सार्वजनिक स्थल, कार्यालय, स्कुल र कलेजहरुमा पनि यस्तो परीक्षण गर्न सकिन्छ। यसले कोरोना नियन्त्रण गर्न मात्र नभई महँगो प्रयोगशाला सेटअप, पिपिई अनि थुप्रै स्वास्थ्य सामग्रीका लागि चाहिने लागतको वचत पनि गर्छ।
संक्षेपमा, एन्टिजेन परीक्षण सामान्यतया सस्तो हुन्छ, नतिजा केही मिनेटमै दिन्छ अनि पिसिआर परीक्षणले जस्तै सक्रिय संक्रमण पहिचान गर्छ। एन्टिजेन टेस्टको कार्यान्वयनले परीक्षण लागत कम गर्न र व्यापक रुपमा परीक्षणको दायरा बढाउन मद्दत गर्छ।
एन्टिजेन परीक्षणका कमजोरी र सीमितता
पिसिआर परीक्षणको तुलनामा एन्टिजेन परीक्षण निकै कम लागतमा सजिलै गर्न सकिने भए पनि यद्यपि एन्टिजेन परीक्षणको संवेदनशीलता तुलनात्मक रूपमा कम हुन्छ। किनभने भाइरल कल्चर अथवा पिसिआरमा जस्तै भाइरस अथवा आरएनएको amplification एन्टिजेन परीक्षणमा गरिँदैन। त्यसैले स्वाब नमुनामा एन्टिजेन मात्रा कम हुँदा यस परीक्षणले गलत नकारात्मक (False Negative) नतिजा दिने गर्छ। कुनै पनि टेस्ट "highly sensitive" छ भन्नुको मतलब यसले निकै कम "गलत नकारात्मक" (False Negative) नतिजा दिन्छ र कुनै टेस्ट "highly specific" छ भन्नुको मतलब यसले मात्र केही "गलत सकारात्मक" (False Positive) नतिजा दिने गर्छ। एन्टिजेन परीक्षणको तुलनात्मक रूपमा "specificity" (विशिष्टता) उच्च हुन्छ त्यसैले यसले निकै कम False Positive नतिजा दिन्छ।
यसको मतलब यदि कुनै व्यक्तिमा एन्टिजेन परीक्षणको नतिजा पोजिटिभ देखिएमा उसमा कोरोना भाइरसको संक्रमण लगभग निश्चित हुन्छ। तर एन्टिजेन परीक्षणको "sensitivity" कम हुने हुनाले "true positive" को संख्या पिसिआरको तुलनामा कम हुन्छ। अर्को शब्दमा, उल्लेखनीय संख्यामा कोभिड-१९ का बिरामीहरुमा एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ पनि आउन सक्छ। यस समयमा हामीसँग र्यापिड एन्टिजेन टेस्टको क्लिनिकल उपयोगिता मूल्याङ्कन गर्ने पर्याप्त अध्ययन भएका छैनन् तर केही प्रकाशित अध्ययनहरूले देखाए अनुसार पिसिआरको तुलनामा र्यापिड एन्टिजेन टेस्टको "specificity" ९९ प्रतिशतभन्दा बढी देखिन्छ तर "sensitivity" भने केवल ५० प्रतिशतको हाराहारीमा छ। हाल प्रयोगमा रहेका इन्फ्लुएन्जाको लागि गरिने र्यापिड एन्टिजेन टेस्टहरुको संवेदनशीलता पनि लगभग ५० प्रतिशतको हाराहारीमा छन्।
छोटकरीमा भन्नु पर्दा, एन्टिजेन टेस्टबाट आएको पोजिटिभ नतिजा विश्वसनीय हुन्छ र यसलाई थप पुष्टीकरणको आवश्यकता पर्दैन। यद्यपि यदि एन्टिजेन टेस्टको नतिजा नेगेटिभ छ तर उक्त व्यक्ति शंकास्पद (रोगको लक्षण देखिएका, बिरामीसँग निकट सम्पर्क आएका, ट्राभल हिस्ट्री आदि) छ भने पिसिआर परीक्षण गरेर मात्र संक्रमणलाई रुल आउट गर्नुपर्छ।
व्यावसायिक उपलब्धता र नियामक मामला
यी नयाँ परीक्षणहरू अझै व्यापक रूपमा उपलब्ध छैनन् र कोभिड-१९ महामारीमा यसको प्रयोग खासै भएको पाइँदैन। हालसम्म करिब ३० वटा जति कम्पनीहरूले यसलाई बजारमा व्यावसायीकरण गरिसकेका छन्। तीमध्ये धेरै र्यापिड इम्युनोक्रोमेटोग्राफी विधिमा आधारित छन्। आजको मितिसम्म मात्र २ वटा उत्पादनलाई (BD Veritor System for Rapid Detection of SARS-CoV-2 र Sofia SARS Antigen FIA) अमेरिकाको एफडिएले आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ। तर अरु धेरै उत्पादनहरु युरोपमा मान्ने हुने CE-IVD स्वीकृत गरिएको छ।
जापानले टोकियोमा आधारित Fujirebio Inc’s antigen test kit प्रयोगलाई स्वीकृत गरेको छ भने हालसालै इन्डियाको CMR ले दक्षिण कोरियाली कम्पनी (SD Biosensor) लाई प्रयोगको लागि मान्यता दिएको छ। आउँदा दिनहरुमा यो आशा गर्न सकिन्छ कि एन्टिजेन टेस्ट व्यापक रूपमा उपलब्ध हुनेछ र यस महामारीलाई नियन्त्रण गर्न एन्टिजेन परीक्षणको भूमिका 'गेमचेन्जर' पनि हुन सक्छ।
(डा श्रेष्ठ जापानस्थित होक्काइडो विश्वविद्यालयका उपप्राध्यापक (चिकित्सा प्रयोगशाला) हुन् भने डा न्यौपाने स्वास्थ्य विज्ञान विश्वविद्यालय होक्काइडो, जापानकी माइक्रोबायोलोजिष्ट हुन्)