डा रीता थापा
संक्षिप्तमा कोभिड १९
चीनबाट सुरू भएको अति द्रुत गतीमा सर्ने नवआगन्तुक संक्रामक रोग कोभिड–१९ आज विश्वका २१० वटा देशमा फैलिइसकेको छ। आजसम्म यसको न औषधि छ न त प्रभावकारी भ्याक्सिन नै बनेको छ। वैज्ञानिक जानकारी अनुसार यो रोग त्यति चाँडै लोप हुने संकेत पनि देखिँदैन। यसको मुख्य उपचार भनेको नै नियन्त्रण तथा रोकथाम गरी यो भाइरसलाई आफ्नो शरीरमा प्रवेश गर्न नदिनु हो।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोभिड–१९ प्रभावित देशको सूचीमा राखेको छ। साथै उक्त संघले विश्वका सबै मुलुकलाई कोभिड–१९ को महामारी अझ बढ्न सक्ने हुँदा गम्भीर सावधानी अपनाउन आग्रह पनि गरेको छ।
नेपालमा लकडाउनपछि कोभिड–१९ को स्थिति
नेपालमा पनि यो रोग २३ जनवरीमा चीनबाट फर्किएका एक नेपाली पुरुषमा देखिएको दुई महिनापछि नेपाल सरकारले २४ मार्चमा नेपालमा लकडाउन घोषणा गरेको थियो। अनेक कठिनाइका बाबजुद पनि नागरिकले लकडाउनको मर्म र मर्यादालाई अनुशासित पालना गरेको देखिन्छ। यस अवधिमा हामीमध्ये दैनिक ज्याला गरेर पेट पाल्नुपर्नेहरुले भरपेट खान पाएनन् भने कतिपयले आत्महत्या गरे। कतिपय महिलाले यौन दुव्र्यवहार र घरेलु हिंसा भोग्न बाध्य भए।
नेपाल सरकारले झन्डै ४ महिनापछि २१ जुलाई अर्थात् साउन ६ गते लकडाउन हटाएको छ। नेपाल सरकारको यो निर्णयले धेरैलाई आर्थिक तथा अन्य राहत दिए तापनि यो कोभिड–१९ को महामारीमा विजय प्राप्त गरेको संकेत भने अवश्य होइन।
यो ६ महिनामा नेपालको ७७ वटै जिल्लामा कोभिड संक्रमण फैलिएको देखिन्छ। नेपालमा कोभिडबाट मृत्यु हुने दर प्रति १० लाखमा १.६ प्रतिशत देखिन्छ। संक्रमितमध्ये सबैभन्दा ठूलो प्रतिशत २१ देखि ३० वर्षका युवाले ओगटेका छन्। महिलामा संक्रमित र मृत्युदर पुरुषको दाँजोमा धेरै कम देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हालैको सूचना अनुसार जुलाई ३ को संक्रमित दर१०.३४ प्रतिशतबाट झर्दै लकडाउनपछि ६ दिनको सरदर संक्रमित दर ३.३ प्रतिशत र २८ जुलाइमा ६.१८ प्रतिशतको दरले बढेको देखिन्छ।
यसो हुँदा पनि आजका दिनसम्म नेपालमा कोभिड–१९ को मृत्युदर अन्य छिमेकी देशभन्दा कम देखिएको छ। यसका विभिन्न कारणमध्ये नेपालमा ९० प्रतिशत संक्रमित ६० वर्षमुनि उमेर भएकाले उनीहरूको रोग प्रतिरोधात्मक शक्ति बढी हुन्छ, तसर्थ कम मृत्यु भएको हो। कुल नेपाली जनसंख्याको ८.१ प्रतिशत भाग मात्र ६० वर्ष भन्दा माथिकाले ओगटेको हुँदा युवाहरूमा बढी संक्रमण देखिएको पनि हो।
अर्को कारण, नेपालमा भित्रिएको कोभिड–१९ भाइरसको जिन बदलिएको अर्थात् म्युटेसन भई कम जोखिम भएको हुन पनि सक्छ। तर त्यसबारे हामीलाई पूर्ण जानकारी छैन। जे कारणले भए पनि समग्रमा यी राम्रा लक्षण हुन्। यस श्रेयको बढी भागेदार आम नेपाली नागरिकको रोग प्रतिरोधात्मक शक्ति र कोभिड–१९ रोक्न आवश्यक विभिन्न मान्यताको अनुशासित पालना गर्ने मनोबल हो भन्नुमा दुईमत नहोला।
लकडाउनपछि कोभिड–१९ नियन्त्रणको जनस्वास्थ्य व्यवस्थापन
बितेका ६ महिनामा जनस्वास्थ्य व्यवस्थापनमा केही प्रगति पनि देखिएको छ। जस्तैः पहिलो कोभिड संक्रमित देखिएको बेला नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड–१९ को पिसिआर टेस्ट गर्नसक्ने क्षमता थिएन भने आज ७ वटै प्रदेशमा गरी २८ स्थानमा पिसिआर केन्द्रहरू स्थापित हुनु जनस्वास्थ्य व्यवस्थापनको उपलब्धि हो। कोभिड–१९ को महामारीपछि पनि यी सबै पिसिआर केन्द्रहरू जनस्वास्थ्य प्रयोगशालामा विकसित हुने अपेक्षा गरौँ। यसका साथै उपत्यकामा बढ्दो संक्रमणलाई नियन्त्रण गर्न साँगा नाकामा पनि यात्रुहरूको स्वाब संकलन सुरु गरिनु पनि राम्रो हो। यी सबै उपलब्धिमा सरकारको राम्रो भूमिका देखिन्छ।
तर, त्यतिले मात्र कोभिड–१९ नियन्त्रण हुन सक्दैन, खासगरी अहिले समुदाय स्तरमा कोभिड–१९ फैलिएको संकेतको बेला लकडाउन खोल्नुको औचित्य आफ्नै ठाउँमा होला तर संक्रमित बढ्दै गएको बेला लकडाउन हटाउँदा जुन प्रकारको जनस्वास्थ्य व्यवस्थापन यो ४ महिनाको लकडाउनमा हुनुपर्ने थियो, त्यो भएको देखिएको छैन।
कोभिड–१९ नियन्त्रणको सन्दर्भमा, जनस्वास्थ्य व्यवस्थापन भन्नाले यो भाइरसलाई बहुसंख्यक नेपालीका शरीरमा प्रवेश गर्नबाट नियन्त्रण तथा रोकथाम गर्न सक्ने क्षमता विकास गर्नु हो। यस्ता क्षमता विकासका दुई मुख्य पाटामध्ये पहिलो हो, शंकास्पद संक्रमित व्यक्ति सबैको अनिवार्य ट्रेसिङ र पिसिआर टेस्ट, पोजिटिभ संक्रमितलाई क्वारेन्टाइन तथा आइसोलेसन प्रक्रियाको दायरालाई गम्भीरताका साथ गुणस्तरीय व्यवस्था गर्नु हो।
दोस्रो पाटो हो, नन् मेडिकल उपायहरू। जस्तैः आफ्ना हातका सबै भागलाई पटकपटक साबुनको फिँजमा कमसेकम २० सेकेन्डसम्म धुने, सामाजिक, धार्मिक र आध्यात्मिक जमघट, सभा, शिविर आदि स्थगित गर्ने, सामाजिक दूरी कायम गर्नाले कोभिड–१९ लाई ६० प्रतिशत फैलिन कम गर्नसक्छ। आफूले खोक्दा या हाच्छिउँ गर्दा आफ्नो कुइनो या न्यापकिनले छोपेर गर्ने र अरुलाई पनि त्यसै गर्न आग्रह गर्ने, यसरी प्रयोग गरेको न्यापकिनलाई बिर्को भएको फोहोर फाल्ने भाँडामा फाल्नुपर्छ। यी दुवै किसिमका कोभिड–१९ नियन्त्रणका प्रमाणित जनस्वास्थ्य उपाय युद्धस्तरमा एकैसाथ परिचालन गरिनुपर्छ।
कोरोना रोग नियन्त्रण गर्न अत्यावश्यक जनस्वास्थ्य व्यवस्थापन प्रणाली भनेको प्रत्येक प्रदेशका प्रत्येक पालिकाका प्रत्येक वडामा कन्ट्याक्ट टे«सिङको व्यवस्था कायम गरी शंकास्पदहरूलाई पिसिआर टेस्टिङ रेफर गर्ने या पिसिआर सेन्टरमा पुर्याउने व्यवस्था गर्नु हो। साथै पोजिटिभ संक्रमितहरूलाई क्वारेन्टाइनको तथा आइसोलेसन प्रक्रियाको दायरालाई गम्भीरताका साथ गुणस्तरीय सेवाको व्यवस्था गर्नु हो।
वडासम्म पुगी कन्ट्याक्ट टे«सिङ र पिसिआर गर्नसक्ने क्षमता बोकेको जनस्वास्थ्य व्यवस्थापन प्रणाली स्थापित नहुँदासम्म समुदायमा कोभिड–१९ को संक्रमण फैलने जोखिम विद्यमान भइरहन्छ। यस प्रकारको जनस्वास्थ्य व्यवस्थापन प्रणालीको सुरुवात पालिका स्तरमा स्थापित सामुदायिक स्वास्थ्य इकाईरअर्बन हेल्थ सेन्टररहेल्थ पोस्ट या प्राइमरी हेल्थ केयर सेन्टरहरूबाट कन्ट्याक्ट टे«सिङ र पिसिआर रेफरल सेवा सुरु गर्दा वडावडामा कार्यरत महिला सामुदायिक स्वास्थ्यसेविका लगायत अन्य स्वास्थ्यकर्मीहरूलाई परिचालन गर्न सहज हुन्छ। यस्ता वडास्तरमा कन्ट्याक्ट टे«सिङ र पिसिआर रेफरल सेवाप्रदायक सामुदायिक नेटवर्कलाई ७ प्रदेशका विभिन्न जिल्लामा विद्यमान १२५ अस्पताल तथा २८ पिसिआर केन्द्रसँग जोड्न सके सबै शंकासपद संक्रमितले आवश्यकता अनुसार व्यवस्थित किसिमले पिसिआर सेवा पाउने थिए।
तर, कोभिड–१९ को नियन्त्रणमा यस प्रकारको जनस्वास्थ्य व्यवस्थापन संरचना गरिएको पाइँदैन। सरकारको पहिलेको कार्य निर्देशिका अनुसार बाहिरबाट भित्रिएका नेपालीलाई १४ दिनसम्म क्वारेन्टाइनरहोल्डिङ सेन्टरमा राख्ने र केही लक्षण नेदेखिकालाई पिसिआर टेस्ट नगरी घर पठाउने निर्देशन सबै प्रदेशबाट मान्यता पनि पाएको देखिँदैन।
वीरगञ्जमा नगर प्रमुखको नेतृत्वमा हालैको ‘एक घर, एक पिसिआर’ को अभियानले जनस्वास्थ्य व्यवस्थाका यस्ता अत्यावश्यक खाँचोलाई स्पष्ट पारेको छ। त्यस्तै स्थिति सुदूरपश्चिम, बागमती प्रदेश र प्रदेश २ मा समुदायमा बढ्दै गएको कोभिड–१९ संक्रमितले पनि जनाउँछ। साथै सामाजिक अभियन्ता पनि बृहत पिसिआरको माग गर्दै फेरि अनसनमा छन्।
यसका साथै स्वास्थ्यकर्मीको पर्याप्त सुरक्षा नहुनु पनि नेपालको जनस्वास्थ्यको अर्को कमजोरी हो।
कहिले पनि कोभिड–१९ संक्रमित नदेखिएको नेपालमा आरडिटीको प्रयोग भनेको केवल खर्च र समयको नाश हो। बरु महामारीपछि कोभिड–१९ को एन्टिबडी अर्थात् हार्ड इम्युनिटी परीक्षण गर्न आरडिटी उचित हुनेछ।
अन्त्यमा केही सुझाव
अझै पनि सुधारका लागि समय छ। स्थानीय वडास्तरमा सबै शंकासपद संक्रमितलाई क्रियाशील खोज पड्ताल गरी व्यवस्थित किसिमले पिसिआर सेवा प्रदान गरिनु अत्यावश्यक देखिन्छ। वडासम्म पुगी कन्ट्याक्ट टे«सिङ र पिसिआर गर्नसक्ने क्षमता बोकेको जनस्वास्थ्य व्यवस्थापन प्रणाली आज देशले माग गरेको छ।
स्थानीय स्तरका स्वास्थ्य टोलीलाई प्रष्ट कार्यनिर्देशिका, पर्याप्त तालिम, नियमित सुपरिवेक्षण साथै आवश्यक उपकरणबाट सशक्त पारी कन्टयाक्ट टे«सिङ, शंकास्पदहरूलाई पिसिआर टेस्टिङ रेफेर गर्ने काममा लगाउन सकिन्छ। कार्यदक्षतालाई अझ बढी प्रभावकारी बनाउन उनीहरूलाई कार्य उपलब्धिमा आधारित आकर्षक प्रोत्साहन व्यवस्था गर्दा कोरोनाको रिपोर्टिङ समेत प्रभावकारी हुन्छ। कोभिड नियन्त्रणका लागि युद्धस्तरमा कन्ट्याक्ट टेसिङ र पिसिआरको दायरा वृद्धि गर्नुको अर्को विकल्प छैन, खास गरि समुदायस्तरमा कोभिड फैलिने संकेतको यो घडीमा।
राष्ट्रिय बजेटको ६ प्रतिशतभन्दा बढी स्वास्थ्यमा छुट्याइएको रकमले स्थानीय तहदेखि केन्द्रसम्म नै बलियो जनस्वास्थ्य व्यवस्थापन प्रणालीको विकासमा लगानी गर्नाले भोलि आइपर्ने कोरोना जस्ता कुनै पनि महामारीलाई देशले सजिलै नियन्त्रण गर्न सक्छ। साथै आधारभूत स्वास्थ्य सेवा दिगो किसिमले सबै नागरिकको सहज पहुँचमा पुग्छ। विश्व स्वास्थ्य संघको एक अनुसन्धानले आधारभूत स्वास्थ्य सेवामा एक रुपैयाँको लगानीले ६ रुपैयाँको नाफा हुने तथ्य औंल्याएको छ। तसर्थ कोभिड–१९ लाई नियन्त्रण गर्न आवश्यक घरदैलोसम्म पुगेको जनस्वास्थ्य सेवा प्रणाली व्यवस्थापन विकास गर्नु आजको नेतृत्वकोे चुनौती र अवसर दुवै हो।
(वरिष्ठ जनस्वास्थ्यविद् डा थापा नेपाल जनस्वास्थ्य प्रतिष्ठानकी अध्यक्ष हुन्।)