काठमाडौं- विराटनगर महानगरपालिकामा आइसोलेसनको अभावमा १२ जना कोरोना संक्रमित उपचारबाट बञ्चित भएका छन्। आइसोलेसनको अभावमा उनीहरुलाई घरमै आइसोलेसनमा राखिएको छ।
आइसोलेसनको अभावमा १२ जना संक्रमितको उपचार हुन नसकेको महानगरपालिकाका कोभिड–१९ पिन सुपरभाइजर हैदर अलीले बताए। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिकालाई व्यवस्थापन गर्न समस्या भएको छ।
उनका अनुसार महानगरपालिकाभित्र हाल ५४ सक्रिय संक्रमित छन्। जसमध्ये ४२ जनाको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ। बाँकी १२ जनालाई भने घरमै आइसोलेसनमा राखिएको उनले पुष्टि गरे। महानगरपालिका भित्र कोरोना संक्रमितको लागि भनी ४० शय्याको व्यवस्थापन गरेको छ।
‘संक्रमितको संख्या बढ्दो छ’, उनले भने, ‘४२ जना हाल उपचाररत हुनुहुन्छ। ४० शय्या भरिएपछि २ जनाको अन्य अस्पतालमा व्यवस्थापन गरेका छौं। बाँकी संक्रमितको व्यवस्थापनका लागि हामी जुटिरहेका छौं।’
साँझसम्म १२ जना संक्रमितलाई आइसोलेसनको व्यवस्थापन गरिने उनले बताए। हाल नयाँ भेटिएका संक्रमितमा लक्षण देखिएकाले उनीहरुलाई घरमै आइसोलेसनमा राख्न पनि समस्या हुने अलिले बताए।
उनले भने, ‘घरमै आइसोलेसनमा राख्न पनि समस्या हुन्छ। सरकारले एउटा निश्चित प्रोटोकल बनाइदिएको छैन। संक्रमितलाई अक्सिजन चाहियो या गाह्रो भयो भने के गर्ने?’
संक्रमितको संख्या बढ्दै जाँदा आफूहरुलाई व्यवस्थापन गर्न निकै समस्या हुने गरेको महानगरपालिकाले जनाएको छ। संघीय र प्रदेश सरकारले कोरोना संक्रमितको व्यवस्थापनमा सहयोग गर्नुपर्ने उनले बताए।
‘संक्रमितलाई घरमै राखौँ भने पनि समुदायका मानिसले मान्दैनन्। संघीय र प्रदेश सरकारले यसतर्फ ध्यान दिनु अति नै आवश्यक छ,’ उनले भने।