डा अविनाशकुमार झा
प्राय: व्यक्तिले घाम लागेको बेला कालो चस्माको प्रयोग गर्ने गर्छन्। कालो चस्माले आँखालाई शितलता प्रदान गर्छ र आँखामा अनावश्यक किरणहरु जानबाट रोक्छ।
अल्ट्राभायलेट जस्ता सूर्यबाट निस्केका हानिकारक किरण आँखाको लागि नराम्रो हो र यस्ता किरणबाट आँखालाई जोगाउनु आवश्यक छ। प्राय: मानिसले यस्ता किरणहरुबाट आँखालाई बचाउनु भन्दा पनि आकर्षक देखिनको लागि कालो चस्मा लगाउने गरेको पाइएको छ। बजारमा पाइने सबै चस्मा अल्ट्राभायलेट रेज प्रोटेक्टिभ हुँदैनन्। त्यसैले चस्मा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ। चस्मा किन्दा निम्न कुरामा ध्यान दिनु आवश्यक छ:
- १०० प्रतिशत अल्ट्राभायलेट प्रोटेक्टिभ
धेरैजसो व्यक्तिले चस्मा किन्दा सन ग्लासेसको डिजाइन र रङमा विशेष जोड दिएको पाइन्छ। तर चस्मा किन्दा सबैभन्दा जरुरी कुरा चस्मा १०० प्रतिशत उल्ट्राभायलेट रेज प्रोटेक्टिभ हो कि होइन जान्नु जरुरी छ।
- चस्मा जति ठूलो त्यति राम्रो
चस्माको आकार जति ठूलो भयो, सूर्यको हानिकारक किरणको असर आँखामा त्यति नै थोरै हुन्छ। ठूलो चस्माले छेउछाउबाट छिर्ने हानिकारक किरणहरुलाई पनि आँखाभित्र छिर्नबाट रोक्छ, जुन आँखाको लागि राम्रो हो।
- कालो चस्मा हुँदैमा उल्ट्राभायलेट प्रोटेक्टिभ हुनु जरुरी छैन
बजारमा पाइने कालो चस्मा जुन आकर्षणको लागि लगाइन्छ, प्रायजसो चस्मा अल्ट्राभायलेट प्रोटेक्टिभ हुँदैनन्। यस्तो चस्मा लगाउँदा सूर्यको प्रकाश आँखाभित्र कम छिर्छ, जसले गर्दा आँखाको नानीको आकार सामन्य अवस्थाभन्दा ठूलो हुन्छ। यस्ता चस्मामा अल्ट्राभायलेट रेज प्रोटेक्सन छैन भने बढी मात्रामा अल्ट्राभायलेट जस्ता हानिकारक किरणहरु आँखाभित्र छिर्छ, जुन आँखाको लागि राम्रो कुरा होइन। यस्ता किरणले आँखाभित्र नराम्रो असर पुर्याउने खतरा हुन्छ। बजारमा पाइने साधारण कालो चस्मा अल्ट्राभायलेट प्रोटेक्टिभ हुँदैनन्।
- चस्माको रङ
सन ग्लासेसहरु हरियो, रातो, खैरो, आकाशे जस्ता विभिन्न रङमा बजारमा सजिलैसँग पाउन सकिन्छ। यस्ता चस्माले सूर्यको धेरै प्रकाश नरोके पनि कन्ट्रास्ट बढाउँछ। चस्माको रङ आफूखुसी छान्दा हुन्छ। चस्माको रङभन्दा पनि चस्मा १०० प्रतिशत अल्ट्राभायलेट प्रोटेक्टिभ हो कि होइन जान्नु जरुरी छ।
- पोलाराइज चस्माले ग्लेयर घटाउँछ, अल्ट्राभायलेट रेज रोक्दैन
पोलराइज चस्माले अल्ट्राभायलेट रेजबाट आँखालाई प्रोटेक्सन गर्दैन तर यस्ले ग्लेयर चाहिँ कम गर्छ। गाडी चलाउँदा अथवा पानीमा भएको बेला ग्लेयर कम गरी रमणीय र आनन्दमय चाहिँ पक्कै बनाउँछ।
- चस्मा धेरै महँगो आवस्यक छैन
सन ग्लासेस राम्रो हुनका लागि महँगो हुनुपर्छ भन्ने छैन। बजारमा पाइने कम दामको चस्मा पनि उत्तिकै राम्रो हुन सक्छ। तर छान्न भने जान्नु पर्छ। चस्मा किन्दा १०० प्रतिशत अल्ट्राभायलेट प्रोटेक्टिभ लेखेको र १०० प्रतिशत प्रोटेक्टिभ छ कि छैन भनी जाँच गरेर किन्नु आवश्यक छ।
(झा नेत्र रोग विशेषज्ञ हुन्।)