काठमाडौं- सरकारले ऐन संशोधन नहुँदा खुलेआम फर्मुला मिल्क बिक्री वितरण गर्ने विरुद्ध कारबाही गर्न सकेको छैन।
जो कसैले फर्मुला बिक्री वितरण गर्न नपाउने भएपनि फार्मेसी पसलमा यो सहज रुपमा खरिद गर्न सकिन्छ। उत्पादक तथा वितरकले दूधलाई प्रतिस्थापन गर्ने वस्तु नेपालमा बिक्री गरिनु अघि केन्द्रीय खाद्य अनुसन्धानबाट जाँच गराई प्रमाणीकरण लिनुपर्ने र तोकिए बमोजिम लेवल स्वीकृति लिनुपर्ने हुन्छ।
उत्पादनमा बच्चाहरुको लागि स्तनपान सबैभन्दा असल दूध हो भन्ने जस्ता सन्देश स्पष्ट रुपमा लेखिएको हुनुपर्छ। यी कुनै पनि पालना नभए आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु ( बिक्री बितरण नियन्त्रण ) ऐन २०४९ ले कानून विपरित मान्छ।
ऐन विपरित आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु खुलेआम रुपमा बिक्री भएपनि सरकारले कारबाही गर्न सकेको छैन। ऐन संशोधन नहुँदा नै काम गर्न तथा कारबाहीका लागि समस्या भएको परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख केदार पराजुलीले बताए।
उनले भने, २०४९ सालको ऐनमा भएका प्रावधान र व्यवस्था अहिलेको परिवेशमा मिल्दैन। ऐन संशोधन नहुँदा नै हामीलाई कारबाही गर्न र अन्य काम गर्न समस्या छ।
संशोधनका लागि प्रस्ताव गरेपनि हालसम्म प्रक्रिया अघि बढ्न नसकेको उनले बताए। २०७५ सालमा ऐन संशोधन भएर आएपनि सबै प्रावधान पुरानै भएकाले महाशाखाले संशोधनको प्रस्ताव गरेको थियो।
पराजुली भन्छन्, पहिले क्षेत्र अनुसारको प्रावधान थियो। अहिले हामी संघीय संरचनामा गएका छौं। त्यसैले यो ऐन अहिलेको परिवेश अनुसार हुनुपर्छ भनेर हामीले संशोधनका लागि प्रस्ताव पेश गरेका हौं। संभवत आगामी मंसिरसम्म टुंगो लाग्नेछ।
ऐन अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव अध्यक्ष रहने गरी स्तनपान संरक्षण तथा सम्वद्र्धन समिति गठन गरिएको छ। समितिले ऐन पालना भए नभएको सुपरिवेक्षण गर्ने, ऐनका प्रावधान उल्लंघन गर्ने उत्पादक, वितरक र स्वास्थ्य कार्यकता विरुद्ध मुद्दा चलाउने, उत्पादनका लेवलहरु पुनरावलोकन गरी स्वीकृति दिने लगायत काम गर्छ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार नेपालमा ६६ प्रतिशत महिलालले मात्र पूर्ण स्तनपान गराउँछन्।
शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउने महिलाको संख्या ५५ प्रतिशत छ। शिशु जन्मेदेखि २ वर्षसम्म ८९ प्रतिशत महिलाले स्तनपान गराउने गरेको महाशाखाले जनाएको छ।
नेपालमा ५ वर्ष मुनिका ३६ प्रतिशत बालबालिकामा पुड्कोपना, १० प्रतिशतमा ख्याउटेपना, २७ प्रतिशतमा कमतौल र ५४ प्रतिशतमा रक्तअल्पताको समस्या छ। यी सबै प्रकारको कुपोषणको न्यूनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने चिकित्सकहरु बताउँछन्।
विश्व स्तनपान सम्बन्धी जनचेतना बढाउन सरकारले वर्षेनी स्तनपान सप्ताह मनाउने गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्ष स्वस्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार भन्ने नारा सहित अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउँदैछ।