काठमाडौं - नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। गत २४ घण्टामा मात्र ३ सय १५ जना भेटिएसँगै संक्रमितको संख्या २० हजार ८६ पुगेको हो।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा सुनसरीका १, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका १, इलामका १७ र सिरहाका ५ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १, इलामका ५, उदयपुरका १ र मोरङका २, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा सप्तरीका ७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता डा जागेश्वर गौतमले बताए।
नारायणी अस्पताल वीरगञ्जमा बाराका १, पर्साका ६२ र रौतहटका १, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बझाङका ४३, अछामका २८, कैलालीका ९, कञ्चनपुरका ८ र काठमाडौंका २ जनामा कोरोना पाइएको छ।
गत २४ घण्टामा गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेमा धुलिखेल अस्पताल प्रयोगशालामा कैलालीका २७, काभ्रेपलाञ्चोकका १ र रामेछापका दुई जना रहेका छन्।
यस्तै, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा काठमाडौंका १, स्टार अस्पताल सानेपामा पर्साका ३, नेपाल कोरियामैत्री अस्पताल भक्तपुरमा काठमाडौंका २, भक्तपुर र पर्साका १÷१ जनामा कोरोना भेटिएको छ।
प्रादेशिक क्षयरोग पोखरा प्रयोगशालामा कास्कीका १, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रुपन्देहीका २, सुर्खेत प्रादेशिक अस्पतालमा सल्यानका १, सेती प्रादेशिक अस्पताल धनगढीमा बझाङका २५, कैलालीका ५३ र कञ्चनपुरका १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
प्रवक्ता गौतमका अनुसार कोरोनाको आशंकामा गत २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै हालसम्म पिसिआर परीक्षण गर्नेको संख्या ३ लाख ८२ हजार ४ सय ९० पुगेको छ।
कुल संक्रमितमध्ये हाल ५ हजार ३ सय ३८ जना संक्रमित संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मुलुकभर हाल ११ हजार ५ सय ३३ जनालाई मन्त्रालयले क्वारेन्टाइनमा राखेको छ।