काठमाडौं- नेपालमा कोरोना संक्रमितको जोखिम बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको दायरा बढाएको छ।
मन्त्रालयले नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड-१९ लाई परिवर्तन गर्दै पिसिआर परीक्षणको दायरा बढाएको हो। लक्षण भएका सबै बिरामीको पिसिआर परीक्षण गरिने निर्देशिकामा उल्लेख छ। ज्वरो, खोकी, श्वास फेर्न गाह्रो, सुँघ्ने वा स्वाद पाउने क्षमता हराएको वा पखाला लागेको लक्षण देखिएका बिरामी यस अन्तर्गत पर्छन्।
निर्देशिका अनुसार कोरोना संक्रमितसँग सम्पर्कमा आए, गम्भीर खालका श्वासप्रश्वासका बिरामी, विदेशबाट जमिन वा हवाई मार्गबाट फर्केका सबैको पिसिआर परीक्षण हुनेछ।
फ्रन्टलाइनमा काम गर्ने सबै स्वास्थ्यकर्मी र अन्य सेवा (प्रहरी, सेना, बस चालक, फोहरमैला कर्मचारी आदि) मा फ्रन्टलाइनमा कार्यरत कर्मचारी पनि यसको दायराभित्र पर्छन्।
कोरोना संक्रमण फैलिएको क्षेत्रबाट गएको १४ दिनमा फर्किएका सबै, आइसियुमा भर्ना भएका, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र विशेषगरी ६० वर्ष उमेर माथिका व्यक्तिको पिसिआर परीक्षण गरिने निर्देशिकामा उल्लेख छ।
चिकित्सकीय मूल्यांकनका आधारमा सबै प्रकारको अपरेसनअघि पनि पिसिआर परीक्षण गरिने छ।
चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर तथा अन्त्यन्त गम्भीर अवस्थाका बिरामी जो १४ दिनपछि कम्तीमा पनि तीन दिन लक्षण नदेखिए तथा हल्का समस्या भएकालाई डिस्चार्ज गर्न सकिने छ। यस्ता संक्रमितको डिस्जार्चका लागि परीक्षण नचाहिने निर्देशिकामा उल्लेख छ।