काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सरकारी निवास बालुवाटारमा लकडाउनका विषयमा जनस्वास्थ्यविद्सँग परामर्श सुरु गरेका छन्। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ओलीले जनस्वास्थ्यविद्सहित विभिन्न स्वास्थ्य क्षेत्रका २५ जनालाई बोलाएर परामर्श सुरु गरेका हुन्।
छलफलमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरु सहभागी छन्।
काठमाडौं उपत्यकालगायत तराई क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री ओलीले छलफल गर्न स्वास्थ्य क्षेत्रका व्यक्तिहरुलाई बोलाएका हुन्। यसअघि प्रधानमन्त्री ओलीले गत जेठ २१ गते पनि स्वास्थ्य क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका थिए।
सोमबार बेलुकासम्म देशभर कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ भने ५८ जनाको मृत्यु भइसकेको छ। निको भई घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ रहेको छ।