काठमाडौं - विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६३ पुगेको छ।
विराटनगर ९ का ४५ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ। उनी गएराति साढे १० बजे अस्पताल भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।
उनका अनुसार अस्पतालमा आउँदा उनको फोक्सोमा पानी जमेको थियो। उनी कलेजो र मिर्गौलाका रोगी समेत रहेको अस्पतालले जानकारी दिएको छ। उपचारको क्रममा उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको हो।
यस्तै, मोरङ ८ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपनि अस्पताल ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको डा दासले जानकारी दिए।
मृत्युपछि गरिएको पिसिआर परीक्षणमा उनको कोरोना पोजेटि आएको अस्पतालले जानकारी दिएको छ।