काठमाडौं - नेपालमा एकै दिन पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्ज र विराटनगरमा दुई/दुई र काठमाडौंमा एक जना संक्रमितको मृत्यु भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६३ पुगेको छ। वीरगञ्जमा उपचारका लागि अस्पताल ल्याउने क्रममा १८ वर्षीय एक युवतीको मृत्यु भएको थियो। नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा मदन उपाध्यायका अनुसार ती युवतीको मंगलबार राति मृत्यु भएको हो।
उनको मृत्युपछि गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ आएको हो। पर्साको पोखरिया नगरपालिका ९ की ती युवतीलाई सोमबार पटक–पटक बान्ता हुने समस्या देखिएपछि नेशनल मेडिकल कजेलमा लगिएको थियो। तर उनको अस्पताल नपुग्दै मृत्यु भएको हो।
यस्तै, वीरगञ्जस्थित हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको बुधबार बिहान ६ बजे मृत्यु भएको छ। ज्वरो आएको र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी मंगलबार राति ९ बजे अस्पताल भर्ना गरिएको थियो। उनी वीरगञ्ज १५ निवासी हुन्।
उनको साउन १८ गते नमूना संकलन गरिएको थियो। १९ गते उनको कोरोना पोजेटिभ आएको थियो। डा. उपाध्यायका अनुसार ती व्यक्ति मधुमेह बिरामी थिए।
बुधबार नै विराटनगरमा दुई जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ। विराटनगर ९ का ४५ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो। उनी मंगलबार साढे १० बजे अस्पताल भर्ना भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले जानकारी दिए।
उनका अनुसार अस्पतालमा आउँदा उनको फोक्सोमा पानी जमेको थियो। उनी कलेजो र मिर्गौलाका रोगी समेत रहेको अस्पतालले जानकारी दिएको छ। उपचारको क्रममा उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको हो।
मोरङ ८ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपनि अस्पताल ल्याउँदै गर्दा बाटोमा उनको मृत्यु भएको डा दासले जानकारी दिए। मृत्युपछि गरिएको पिसिआर परीक्षणमा उनको कोरोना पोजेटि आएको अस्पतालले जानकारी दिएको छ।
यता, काठमाडौंमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। बलम्बुस्थित नेपाल प्रहरी अस्पताल ( एपीएफ ) मा उपचाररत ६५ वर्षीय महिलाको मृत्यु भएको हो।
सर्लाहीको मलगंवा स्थायी ठेगाना भएकी उनी काठमाडौंको सितापाइलामा बस्दै आएकी थिइन्। ज्वरो आएपछि उनले सर्लाहीकै एक अस्पतालमा भर्ना उपचार गराएकी थिइन्।
समस्या बढ्दै गएपछि स्वम्भुस्थित मनमोहन अस्पतालमा १६ गते भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको एपीएफ अस्पतालका डा. प्रवीन नेपालले बताए। उनको १८ गते कोरोना पोजेटिभ आएपछि १९ गते एपीएफ अस्पतालमा सारिएको उनले जानकारी दिए।
एपीएफ अस्पतालमा पनि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। डा. नेपालका अनुसार ती महिलालाई निमोनिया भएको थियो। उनी रक्तचाप र बाथरोगका बिरामी भएको अस्पतालले जनाएको छ। उनलाई स्क्रब टाइफस समेत भएको उनले जानकारी दिए।