काठमाडौं- काठमाडौं उपत्यकामा बुधबार साँझसम्म १०२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उपत्यकामा एकै दिन सय भन्दा धेरे व्यक्तिमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो।
इपिडिमियोलोाजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये धेरै बाहिरी जिल्लाबाट आएका, उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका र कतिपय अस्पतालकै कर्मचारीमा समेत संक्रमण देखिएको छ।
लकडाउन अन्त्य भएसँगै उपत्यकाका मुख्य तीन नाका नागढुङगा, फर्पिङ र साँगा सहित अन्य चोर नाकाबाट आउने मानिसको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि उकालो लाग्न थालेको छ।
संक्रमितमध्ये अधिकांश प्रदेश नम्बर २ का जिल्लाहरु र भारतबाट आएका मानिस छन्। त्यसबाहेक उपत्यका विभिन्न अस्पतालमा उपचारका लाग आएका, अस्पतालका स्वास्थ्यकर्मी, सरसफाईकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार बुधबार देखिएका १०२ जनामध्ये १६ जना सम्पर्क विहिन छन्।
‘उनीहरुमध्ये केहीको फोन उठेन, केहीको उल्लेखित नम्बर नै मिलेको छैन भने कति जनाको मोबाइल नै अफ छ,’उनले भने।
त्यसबाहेक ३६ जना संत्रमितको ट्राभल हिष्ट्री छ भने ३२ जना संक्रमितमा कोरोनाको कुनै न कुनै लक्षण देखिएको छ।
५६ जना संक्रमितलाई अस्पतालमा भर्ना गरिएको र २० जना संक्रमित होम आइसोलेसनमा बसेको कोइरालाले जानकारी दिए।
उपत्यकामा संक्रमितको संख्या बढेपछि संक्रमितको व्यवस्थापनमा भने चुनौति थपिएको छ। कोरोना संक्रमितको व्यवस्थापनका खटिएका कर्मचारीलाई अबेर रातीसम्म संक्रमितलाई कुन अस्पतालमा लगेर व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ।
उपत्यकामा संक्रमित अस्पताल पुर्याउनका लागि एम्बुलेन्सको संख्या समेत निकै कम छ। उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौंका लागि जम्मा ३ वटा मात्र एम्बुलेन्स व्यवस्था भएकाले समयमा सबैलाई सम्पर्क गरी अस्पताल लैजान नसकिने स्वास्थ्यकर्मीले गुनासो गरे।
स्वास्थ्यकर्मीले केही समय उपत्यकामा लकडाउन गर्नुपर्ने र नाकाबाट उपत्यका प्रवेश निधेष गर्नुपर्ने धारणा समेत राखेका छन्।