काठमाडौं- कोरोना उपचारमा पहिलो पटक कन्भ्यालिसेन्ट प्लाज्मा थेरापीबाट उपचार गराएका विराट नर्सिङ होमका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ज्ञानेन्द्रमान सिंह कार्की आज डिस्चार्ज हुँदै छन्।
डा कार्की कोरोना संक्रमण भएर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट टिचिङ अस्पतालमा रिफर भएका थिए।
उनको साउन १५ गते त्रिवि शिक्षण अस्पतालमा कन्भ्यालिसेन्ट प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो।
‘केहीबेरमा डिस्चार्ज हुँदैछु। यो समयमा अस्पतालमा चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी लगायत सबैलाई धन्यावाद दिन चाहन्छु,’ उनले स्वास्थ्यखबरसँग भने।
जनमानसमा कोरोना बढी उमेरका मानिसलाई मात्र लाग्छ भन्ने धारणा रहेको भन्दै डा कार्कीले कोरोनाले उमेर नहेर्ने भएकाले सबै उमेर समूहका मानिस उत्तिकै जोखिममा भएकाले सतर्क रहन अनुरोध गरे।
उनले केही समयमा घरमै आराम गरेर मात्र काममा फर्कने बताएका छन्। उनले कोरोना भाइरस संक्रमणपछि धेरै कुरा अनुभव भएको बताए। उनले कोरोना उपचारका लागि नेपालमा पहिलो पटक अपनाइएको प्लाज्मा थेरापीबाट निको भएकोमा खुसी पनि लागेको बताए।
उनलाई नुवाकोट स्थायी घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय युवाले प्लाज्मा दान गरेका थिए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ती युवाको परिचय गोप्य राखेको छ। ती युवा कोरोना संक्रमण भई निको भएका व्यक्ति हुन्। प्लाज्मा दान गर्न कोरोना संक्रमण भई निको भएको व्यक्ति हुनुपर्छ।