काठमाडौं- काठमाडौं उपत्यकाका घना वस्तीमा संक्रमण बढेपछि अस्पतालका बेड र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेकोले सर्वसाधारणलाई सचेत रहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बेड, स्वास्थ्यकर्मी, उपकरण अभाव हुने सम्भावना रहेकोले अत्यावश्यक काम बाहेक अन्य काममा घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन्।
उनले भने, ‘काठमाडौं उपत्यका लगायत घना बस्ती भएको ठाउँमा दिनदिनै संक्रमित थपिएकोले बेड, स्वास्थ्यकर्मी, उपकरण अभाव हुने सम्भावना रहेको छ। त्यो कारणले स्वास्थ्यका मापदण्ड जस्तैः अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कनुका साथै दुई मिटरको दूरी राख्ने तथा अनिवार्य रुपमा मास्क लगाउने, साबुनपानीले हात धुन सम्भव नभए सेनिटाइजरको प्रयोग गर्न गौतमले आग्रह गरे।
साथै मन्त्रालयले अस्पताका कर्मचारीलाई सिफ्टमा काम गर्ने व्यवस्था गर्न आग्रह गरेको छ। चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मी अनिवार्य रुपमा जनस्वास्थ्यका मापदन्ड अवलोकन गराउन मन्त्रालयले अपिल गरेको छ।