काठमाडौं— चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका एक चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि ५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ।
इन्टरनल मेडिसिन विभागका ती चिकित्सकलाई ज्वरो आउने, झाडापखाला लाग्ने लक्षण देखिएपछि बुधबार अस्पतालमा भर्ना गरी पिसिआर जाँच गरिएको थियो।
उनको बिहीबार आएको रिर्पोटमा कोरोना पोजिटिभ देखिएपछि चिकित्सक, नर्स र सरसफाई कर्मचारी गरी ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
वीर अस्पतालका निर्देशक डा केदार सेन्चुरीले भने,‘संक्रमण देखिने बित्तिकै जाँच गर्ने होइन, शरीरमा भाइरस प्रवेश गरी विकास हुन २÷३ दिन लाग्ने हुनाले एक भोली वा पर्सी क्वारेन्टाइनमा बसेका कर्मचारीको पिसिआर परीक्षण हुन्छ।’
नियमित रुपमा बिरामी जाँच गरिरहेकाले ती चिकित्सकलाई अस्पतालबाटै संक्रमण सरेको हुन सक्ने अनुमान गरिएको छ।
लकडाउन खुलेपछि वीर अस्पतालमा बिरामीको संख्या बढ्न थालेको छ।
निर्देशक डा सेन्चुरीले लकडाउन अन्त्य भएपछि दिनहुँ एक हजार बढी बिरामी आउने गरेको जानकारी दिए।
उनले भने,‘लकडाउन अन्त्य भएपछि बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुको संख्या बढेको छ।’