काठमाडौं- नेपाल चिकित्सक संघले जोखिम भत्तामा समान रुपमा वितरण गर्न सरकारलाई आग्रह गरेको छ।
संघले शुक्रबार पे्रस विज्ञप्ती जारी गर्दै सरकारले घोषणा गरेको जोखिमभत्ता वितरणमा विभेदीकरण गरिएकोमा भन्दै समान रुपमा वितरण गर्न आग्रह गरेको हो।
कोभिड बीमा अनिवार्य रुपमा लागू गरी उच्च मनोबलका साथ सुरक्षित भई काम गर्ने वातावरण बनाउन सरकारलाई समेत आग्रह गरेको छ।
नेपालमा ८० बढी स्वास्थ्य संस्थाका २ सय २१ जना स्वास्थ्यकर्मीहरु मध्ये ५१ जना चिकित्सकहरु संक्रमित हुँदा स्वास्थ्य सेवा प्रवाहमा असर पुगेकोले भन्दै संघले यस्तो माग गरेको जनाएको छ।
संघले नेपाल मेडिकल काउन्सिलको निर्देशिकामा उल्लेख भएका अत्यावश्यक औषधीहरु अक्सिजन, आइसियू बेडहरु र जनरल बेडहरुको संख्या वृद्वि गर्न समेत माग गरेको छ।
विज्ञप्तीमा संक्रमण दिनप्रतिदिन बढ्दै गएको र कोभिड निर्धारित अस्पतालहरुमा छुट्टयाइएका बेडहरुको समेत अभाव हुने भएकोले नीजि अस्पताल तथा मेडिकल कलेजहरुलाई पनि संलग्न गराउनु पर्ने उल्लेख गरिएको छ।
स्वास्थ्य संस्थामा सामान्य बिरामीहरुको समेत भीडभाड बढदै गएकोले भीडलाई कम गर्नका लागि पूर्व निर्धारित समयलाई कडाईका साथ लागू गर्नुपर्ने, स्वास्थ्य संस्थाहरुको कोभिड–१९ सम्बन्धी आन्तरिक निर्देशिकाहरु बनाई स्वास्थ्य संस्था संचालन गर्नुपर्ने संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।