काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
यो सँगै नेपालमा मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–९ माइस्थान बस्ने ४५ वर्षीय पुरुष छन्। उनको साउन २२ गते दिउँसो ३ः३० बजे पाटन अस्पतालमा मृत्यु भएको हो। उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए। उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो। उनको स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पर्साको वीरगन्ज महानगरपालिका–११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको हो। उनी मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरमी समेत रहेका थिए।
सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए। उनी लामो समयदेखि डायलाइसिस गराउँदै आइरहेका थिए। उनमा साउन २२ गते कोरोना पुष्टि भएको थियो।
त्यसैगरी सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ। उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो।