डा समाज गौतम र डा रविन खड्का
काठमाडौं- सरकारी चिकित्सक संघ(गोदान)को शनिबार नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ। नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा दुई चिकित्सक बिच प्रतिस्पर्धा हुँदैछ।
डा समाज गौतम र डा रविन खड्का नयाँ नेतृत्वको उम्मेद्वारी दिएका छन्।
हामीले दुबै अध्यक्ष पदका प्रत्यासीलाई तपाईको उम्मेद्वारी किन, निर्वाचित भएका के–के काम गर्नुहुन्छ भनेर प्रश्न गरेका छौँ।
सरकारी चिकित्सकमाथि विभेद भएको छ, त्यसका लागि लड्ने छु
डा समाज गौतम
सरकारी सेवामा प्रवेश गरेर स्वास्थ्य सेवामा लागेको १२ वर्ष पुग्न लाग्यो। यो समयमा मैले देशका विभिन्न ठाउँमा गएर सेवा गरेको छु। त्यसैले दुर्गम देखि सुगमसम्मका चिकित्सकका फरकफरक समस्या छन् भन्ने बुझेको छु। कहाँ के समस्या छ भन्नेबारे आफूले पनि भोगेको हुनाले ती समस्याका बारे आवाज उठाउने छु।
अर्कोकुरा, पछिल्लो समय सरकारी चिकित्सकको परिभाषा नै फेरिएको छ। जसमा अस्थायी र करारमा काम गर्ने चिकित्सकलाई समेत राखिएको छ। जसले स्थायी चिकित्सकको सेवासुविधा समेत कटौती भएको छ।
चिकित्सा शिक्षा ऐनमा पनि सरकारी चिकित्सकप्रति भेदभाव भएको छ। सरकारी चिकित्सकका लागि छुट्याइएको कोटामा अस्थायी र करारका चिकित्सकलाई राखिएको छ। त्यो अन्याय हो। सरकारी चिकित्सकले पढ्न पाए त देशकै लागि फाइदा हो नि।
हामीलाई समयोजनका नाममा पनि विभेद भएको छ। समायोजनमा केही चिकित्सकलाई संघ, केही चिकित्सकलाई प्रदेशमा र केही चिकित्सकलाई स्थानीयमा राखेको छ।
प्रदेश र स्थानीय तहको नीति नियम नबनेको अवस्था सेवासुविधाको कुरा पनि प्रष्ट छैन। यस्तो बेलामा चिकित्सक सबैलाई संघमा राखिनुपर्ने तर त्यहाँ पनि घुसपैठ भएको छ। मैले यो विषयमा पहिले देखि नै आवाज उठाउँदै आएको छु।
सरकारले ‘एक स्वास्थ्य संस्था, एक चिकित्सक’ भन्ने नीति ल्याएको छ। यो निकै राम्रो अवधारणा हो। तर यसलाई बिना तयारी लागू गर्न खोजिएको छ।
वैज्ञानिक रुपमा तयारी गरेर मात्र यो प्रक्रिया अगाडि बढाउनुपर्छ। स्वास्थ्य संस्थामा सेवा दिने भनेर मात्र हुँदैन। त्यहाँ भौतिक संरचना, उपकरण, औषधि हुनुपर्छ। अनि त डाक्टरल राम्रो सेवा दिन सक्छ र जनताले सेवा पाउँछन्। चिकित्सकलाई पनि सेही अनुसार सेवासुविधा हुनुपर्यो।
गोदानबारे कुरा गर्नुपर्दा, अहिले हामी संस्थागत रुपमा कमजोर जस्तो देखिएका छौँ। म नेतृत्वमा आएभने संस्थालाई बलियो बनाउँदै सबैलाई समेटेर लैजाने छु। राजनीतिबाट टाढै राखि पेशागत हकहितका विषयमा जोड दिनेछु।
मलाई सबै युवा चिकित्सकको साथ सहयोग छ। उहाँहरुले अहिले देखाउनुभएको विश्वास भोलि निर्वाचनमा पनि देखिनेछ। अन्य सरकारी चिकित्सकहरुले पनि सहयोग गर्नुभएकाले सफलता मिल्ने कुरामा विश्वस्त छु।
‘जेल विथ आउट बेल’ तुरुन्त लागू गराउन पहल गर्नेछु
डा रविन खड्का
म पन्ध्र वर्षदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत छु। देशका ६८ जिल्ला पुगेर स्वास्थ्य सेवा गरेको छु। सरकारी चिकित्सकको हकहित र अधिकार र सुरक्षाका लागि टेवा दिनसक्छु भन्ने विश्वासका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।
गोदानको नेतृत्वमा आएपछि सबैभन्दा पहिला संघीय लोक सेवाबाट सबै नियुक्त सबै चिकित्सकलाई संघ अन्र्तगत रही परिचालन हुनेछन्। चिकित्सा शिक्षा आयोगबाट स्नातकोत्तर अध्ययनका लागि छुट्टाइएको ४० प्रतिशत पुरै सीट सबै लोकसेवा आयोगबाट स्वास्थ्य सेवामा नियुक्त भएका साथीहरुको लागि सुनिश्चित गराउनेछु र एक चिकित्सक, एक स्वास्थ्य संस्थालाई स्वेच्छिक बनाइ लागू गराउने र चिकित्सकको व्यक्तिगत र सामाजिक सुरक्षाको प्रत्याभूति गराउन पहल गर्नेछु। जेल विथ आउट बेल तुरुन्त लागु गराउन पहल गर्नेछु।
चिकित्सक समुहलाई विशिष्ठकृत मानी चिकित्सकको सेवा सुविधा, हक अधिकारको लागी ‘चिकित्सा सेवा ऐन’को पैरवी गरी सो ऐन ल्याउन पहल गर्नेछु।
त्यसबाहेक प्रतिष्ठानहरुको छाता ऐन बनाइ त्यसमा नियुक्त हुने डिन र निर्देशक डाक्टरबाटै हुने व्यवस्थाका लागि पहल गर्नेछु। र स्वास्थ्यको सगठनात्मक पुनःसंरचनामा चिकित्सकलाई सर्वोपरी मानी अर्गानोग्राम बनाउन पनि मैले उम्मेदवारी दिएको हुँ। मेरो पक्षमा माहोल सकारात्मक छ। त्यसैले निर्वाचित हुने कुरामा विश्वस्त छु।