काठमाडौं- उपत्यकामा बुधबार साँझसम्म १२४ जनामा कोरोना संक्रमण देखिएको छ। उपत्यका एकैदिन यति धेरै व्यक्तिमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो। १२४ संक्रमित मध्ये ३४ महिला र ९० जना पुरुष हुन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाका अनुसार ट्राभल हिष्ट्री भएका संक्रमित ४५ जना छन् भने ३० संक्रमितमा लक्षणसमेत देखिएको छ। हालसम्म २५ जना अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् भने ६८ संक्रमित घरमै आइसोलेसनमा बसेको उनले जानकारी दिए।
‘केही संक्रमितसँग आज १० बजेसम्म प्रयास गर्दा समेत सम्पर्क हुन सकेको छैन। उहाँहरूलाई सम्पर्क गर्ने प्रयास जारी नै छ,’ उनले भने।
उनले पछिल्लो समयमा महिलाहरुमा समेत संक्रमण बढिरहेको बताए। ‘पहिले सबै बाहिरै हुनुहुन्थ्यो र घरमा संक्रमण पुग्न पाएको थिएन। पछिल्लो समय परिवारका सदस्य घरबाहिर जाने र संक्रमित भएर घर आउने गर्दा घरका सदस्यलाई समेत संक्रमण सरेको देखिन्छ। त्यसैले पनि महिला संक्रमितको संख्या बढेको हुन सक्छ,’ उनले भने।
पहिले लकडाउनका समयमा महिलामा १० देखि १५ प्रतिशत मात्र संक्रमण देखिएको थियो भने लकडाउन अन्त्य भएपछि ३० प्रतिशतसम्म महिलाको संख्या रहेको महाशाखाले जनाएको छ।
उपत्यकामा संक्रमितको हुनेको संख्या हरेक दिन बढ्दै गइरहेको छ। लकडाउन अन्त्य भएपछि काठमाडौं आउने मानिसको संख्या सँगै संक्रमण पनि बढेको हो। कोरोना संक्रमणबाट बढी प्रभावित प्रदेश नम्बर २ का सबै जिल्ला र भारतबाट आएका व्यक्तिलाई संक्रमण देखिएको छ।
महाशाखाका अनुसार संक्रमितमध्ये धेरै बाहिरी जिल्लाबाट आएका, उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका र कतिपय अस्पतालकै कर्मचारीमा समेत संक्रमण देखिएको छ।
लकडाउन अन्त्य भएसँगै उपत्यका मुख्य तीन नाका नागढुङगा, फर्पिङ र साँगा सहित अन्य चोर नाकाबाट आउने मानिसको संख्या बढेसँगै कोरोना संक्रमितको संख्या पनि उकालो लाग्न थालेको छ।
संक्रमितमध्ये अधिकांश प्रदेश २ का जिल्लाहरु, भारतबाट आएका मानिस छन्। त्यसबाहेक उपत्यका विभिन्न अस्पतालमा उपचारका लाग आएका, अस्पतालका स्वास्थ्यकर्मी,सरसफाईकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अझैपनि संक्रमितमध्ये प्रदेश नम्बर २ कै जिल्लाबाट आएका, भारतबाट आएका व्यक्तिको संख्या नै धेरै छ।
महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘कति व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा परी परीक्षण गर्दा संक्रमित देखिनुभएको छ, कति जनामा काठमाडौंमा विभिन्न कार्यालयमा पिसिआर नमुना संकलन गरी परीक्षण गर्दा समेत संक्रमित देखिनु भएको छ।’
काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेपछि सरकारले यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ। शुक्रबार उपयत्यका तीन जिल्लाका सिडिओसहितको बैठकले अत्यावश्यक बाहेकका सरकारी कार्यालय भदौ ८ गतेसम्म बन्द गर्ने निर्णयसमेत गरेको छ।