काठमाडौं -नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसियु शय्या थप्ने तयारी गरेको छ ।
२ सय ४० आइसियु शय्या थप गर्नका लागि प्रक्रिया अगाडी बढाइएको मन्त्रालयले जनाएको छ । हाल देशभर करीब २ हजार ६ सय आइसियु शय्या र ९ सय भेन्टिलेटर छन् ।
जसमध्ये कोभिड १९ को उपचारका लागि २ सय ५० आइसियु शय्या र भेन्टिलेटर थप गरिएको मन्त्रालयले जनाएको छ ।
अस्पताल बाहेक आइसोलेसन केन्द्रहरुमा थप हजार शय्याको व्यवस्था गर्न मन्त्रालयले सात वटै प्रदेशलाई दुई महिना अघि नै ३८ करोड रकम निकासा गरेको थियो । मन्त्रालयका अनुसार प्रदेश २ र ५ लाई ७/७ करोड, सुदूरपश्चिम र कर्णाली प्रदेशलाई ६÷६ करोड, बागमति र गण्डकी प्रदेशलाई ४÷४ करोड रकम वितरण गरिएको छ ।
गम्भीर प्रकृतिका १ सय ५ सय जनासम्म बिरामीको उपचारका लागि औषधि र आइसियुको सामग्री मौज्दातमा रहेको मन्त्रालयले जनाएको छ । प्रयोगशाला सामग्री र व्यक्ति सुरक्षा सामग्री पिपिई दुई महिनाका लागि पुग्ने गरी स्टकमा रहेको मन्त्रालयले जनाएको छ ।
हब अस्पताल, शिक्षण संस्था तथा प्रतिष्ठान अन्तर्गत सञ्चालित अस्पताल गरी कुल ३६ वटा अस्पताल र १ सय १५ कोभिड क्लिनीक सञ्चालन भएका छन् ।