काठमाडौं - गत २४ घण्टामा नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्सा, मोरङ र काठमाडौंमा १÷१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७३ पुगेको छ ।
वीरगञ्ज ३ छप्कैयाका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान १ बजे उनलाइ नारायणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान मात्र कोरोना पुष्टि भएको हो । ती व्यक्ति मधुमेह र दमका बिरामी रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै, मोरङको विराटनगर महानगरपालिका वडा नं ९ का ५८ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । साउन २३ गते बिहान उनको कोशी अस्पताल विराटनगरमा उपचाररको क्रममा मृत्यु भएको हो ।
निमोनिया भई श्वासप्रश्वासमा कठिनाई भएपछि उनलाई कोशी अस्पतालमा भर्ना गरिएको थियो । यसअघि सप्तकोशी अस्पतालमा उनको उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि उनलाई कोशी अस्पतालमा रिफर गरिएको गौतमले बताए । उनी उच्च रक्तचापका बिरामी समेत थिए ।
यता, काठमाडौं टोखाका ४१ वर्षीय महिलाको मृत्यु भएको छ । उनी पाटन अस्पतालमा उपचाररत थिए। उनको साउन २३ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।