मुख्य समाचार

यस्ता छन् होम आइसोलसनमा बस्ने संक्रमितले पालना गर्नुपर्ने मापदण्ड

काठमाडौं- सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ। कुनै संक्रमित व्यक्ति घरमै आइसोलेसनमा बस्न चाहेमा उसले पालना गर्नुपर्ने मापदण्डहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको हो।

होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने हुन्छ। यस्तै, आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

सामूहिक रुपमा शौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ। यस्तै दाँत माझ्ने ब्रसलगायतका सामानहरु बेसिन बाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसाग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ।

संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने र बढी जोखिममा रहने समूह (दीर्घरोगी, ६० वर्षमाथिको जेष्ठ नागरिक, गर्भवति र सुत्केरी महिला) लाई टाढा राख्नुपर्ने बताइएको छ।

यस्तै दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने उनले बताए। संक्रमितलाई कुनै पनि कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि उनले आग्रह गरेका छन्। 

स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले दिनमा कम्तीमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर सम्बन्धित निकायमा दिनु पनि पर्नेछ। हरेक स्थानीय तहले ५० जना संक्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ। स्वास्थ्यकर्मी वा नर्सले एक जना बिरामी हेरेबाफत दिनको २ सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको उनले बताए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने