नयाँदिल्ली- इन्डियन मेडिकल एसोसियसनले भारतमा कोभिड–१९ कारण १९६ चिकित्सकको मृत्यु भएको जनाएको छ।
एसोसियसनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस विषयमा ध्यान दिन समेत आग्रह गरेको छ। प्रधानमन्त्रीलाई पत्र लेख्दै एसोसियसनले डाक्टर र उनका परिवारको लागि पर्याप्त सुरक्षा सुनिश्चित गर्न र सरकारको तर्फबाट चिकित्सकलाई एवं जीवन बिमा गरिदिन समेत आग्रह गरेको छ।
‘पछिल्लो तथ्यांक अनुसार भारतले १९६ डाक्टरलाई संक्रमणका गुमाएको छ। जसमा १७० डाक्टर ५० वर्षभन्दा माथिका थिए। जसमा ४० प्रतिशत जनरल प्राक्टिसनर्स थिए।’
चिकित्सकहरुको संस्था आइएमएले ज्वरो र कोरोनासँग सम्बन्धित लक्षण भएका व्यक्तिहरु धेरैले जनरल प्राक्टिसनर्ससँग सम्पर्क गर्ने भएकाले जनरल प्राक्टिसनर्सहरु संक्रमणको उच्च जोखिम रहने बताएको छ।
आइएमएका केन्द्रिय अध्यक्ष डा राजन शर्माले भने, ‘आइएमए देशभरका साढे तीन लाख चिकित्सकको प्रतिनिधित्व गर्ने संस्था हो। कोरोनाले सरकारी वा निजीका डाक्टर भन्दैन। यसले सबैलाई समान रुपले प्रभावित गर्छ।’
उनले भने ‘सबैभन्दा निराशानजक कुरा त के भने संक्रमित डाक्टर र उनका परिवारका सदस्यलाई उपचारका लागि भर्ना हुन वेड पाइएको छैन। औषधिको पनि अभावको पनि सामना गर्नुपरेको छ। आइएमए भारत सरकारसँग महामारीको समयमा डाक्टरको सुरक्षा र कल्याणमा ध्यान दिन अनुरोध गर्छ।’
आइएमएका महासचिव डा आरबी अशोकनले कोभिड–१९ का कारण चिकित्सकको मृत्युदर ‘खतरनाक स्थिति’ मा पुगेको बताएका छन्।
आइएमएले प्रधानमन्त्रीलाई लेखेको पत्रसँगै मृत्यु भएका सबै १९६ डाक्टरको सूची समेत पठाएको छ। सबैभन्दा धेरै तमिलनाडुका ४३ जना डाक्टरको मृत्यु भएको छ।
आइतबार बिहान भारतमा ६४ह हजार ३९९ नयाँ संक्रमित देखिएको बताइएको छ। योसँगै हालसम्म २१ लाख ५३ हजार १० जना संक्रमित भएका छन्। हालसम्म भारतमा ४३ हजार ३७९ संक्रमितको मृत्यु भएको छ।
(द वायरबाट)