काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमण हरेक दिन बढ्दो क्रममा छ। सरकार तथा चिकित्सकहरुले भाइरसको संक्रमणबाट जोगिन मास्क लगाउन, भौतिक दुरी कायम राख्न र स्यानिटाइजर वा साबुनपानीले मिचिमिची हात धुन सुझाव दिइरहेको छन्।
तर, नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययनले काठमाडौंमा अझै पनि २८ प्रतिशतले मास्क नलगाएको देखाएको छ। मास्क लगाउने मध्ये पनि २७ प्रतिशतभन्दा बढीले नै उचित रुपमा नलगाएको अध्ययनले देखाएको छ।
परिषदले गरेको अध्ययन अनुसार मास्क लगाउनेको प्रतिशत ७२ दशमलव १ प्रतिशत रहेको छ भने मास्क नलगाउनेको प्रतिशत २७ दशमलव ९ प्रतिशत रहेको छ। अध्ययन अनुसार मास्क लगाउने मध्येमा पनि कपडाको मास्क लगाउने १५ दशमलव ८ प्रतिशत छ।
जनस्वास्थ्य मापदण्ड एसमएमएस (भौतिक दुरी, मास्क र स्यानिटाइजर र साबुनको प्रयोग)का विषयमा परिषदले गरेको अध्ययनले यस्तो तथ्यांक देखाएको हो।
परिषदले व्यक्तिगत तह र संस्थागत तहमा गरी दुई तहमा यो अध्ययन गरेको थियो। सो क्रममा व्यक्तिगत तहमा व्यक्तिहरुले मास्क लगाएको, नलगाएको, मास्कको प्रकार र मास्क लगाउने तरिकाको अवलोकन गरिएको परिषदका अनुसन्धान अधिकृत मेघनाथ धिमालले जानकारी दिए।
उनका अनुसार व्यक्तिगत तहमा ४ हजार ५०२ जनामा अवलोकन गर्दा मास्क लगाउने ७२ दशमलव १ प्रतिशत भेटिएको हो भने नलगाउने २७ दशमलव ९ प्रतिशत भेटिएको हो।
त्यसैगरी सार्वजनिक स्थलमा जम्मा २ हजार ७०३ जनामध्ये सहि तरिकाले मास्क लगाउने ७२ दशमलव ६६ प्रतिशत थिए। यस्तै सार्वजनिक स्थलमा नाक मुनी वा चिउँडोमा मास्क लगाउने, घाँटीमा मास्क झुन्ड्याउने, मास्क हातमा झुन्ड्याउने, मास्कको कडा भागलाई नाकको आकारमा नथिचेर लगाउनेको २७ दशमलव ३४ प्रतिशत थियो।
परिषदले स्वास्थ्य मन्त्रालयले साउन ७ गतेको निर्णय अनुसार अनुसन्धान अगाडि बढाएको हो। परिषदले अनुसन्धान टोली गठन गरी साउन ९ गतेबाट अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। अनुसन्धानका लागि परिषदबाट ६ जनाको विज्ञ समुह गठन भएको थियो। तथ्यांक संकलनका लागि ३९ जना परिचालन भएका थिए।
यो पनि :
चिउँडो र टाउकोमा मास्क लगाउँदा झन् जोखिम, कस्तो अवस्थामा मास्क नफुकाल्ने?