फाइल तस्बिर
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँके र पर्सामा १÷१ र काठमाडौंमा २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७९ पुगेको छ।
बाँके कोहलपुर नगरपालिका वडा नं २ का ७० वर्षीय एक महिलाको उपचारको क्रममा साउन २५ गते मृत्यु भएको छ। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।
निमोनिया तथा सेप्टीक सक भई उनी साउन साउन २३ गते अस्पताल भर्ना भएका थिए। सोही दिन स्वाब नमूना संकलन गरी भेरी अस्पताल नेपालगञ्जमा कोरोना परीक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ। उनको साँझ २५ गते नै कोरोना पुष्टि भएको थियो। मन्त्रालयका अनुसार ती महिला उच्च रक्तचाप तथा प्लाराइलासिसका बिरामी समेत थिए।
यस्तै, पर्साको बेदियाही गाउँपालिका वडा नं १५ की ४५ वर्षीय कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो। मृत्यु भएकै दिन साउन २५ गते उनको कोरोना परीक्षण गर्दा पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, काठमाडौं १० मध्य बानेश्वरका ७६ वर्षी एक पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको छ। श्वासप्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भएपछि उनी साउन २३ गते अस्पताल भर्ना भएका थिए।
उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उनको २४ गते स्वाब संकलन गरिएपनि सोमबार मात्र कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनी निमोनिया, उच्च रक्तचाप तथा मधुमेहका बिरामी समेत थिए।
काठमाडौं कीर्तिपुर ट्याङलाफाँटकएक ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ। निमोनिया तथा सेप्टीक सक भएपछि उनी असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। उनको साउन ५ गते कोरोना पुष्टि भएको थियो। उनी मिर्गौलाका दीर्घरोगी समेत रहेको मन्त्रालयले जनाएको छ।