काठमाडौं- काठमाडौं महानगरपालिकाले थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई पिसिआर मेसिन हस्तान्तरण गरेको छ। अस्पतालको ६१औं वार्षिकोत्सवको अवसर पारेर महानगरपालिकाले उक्त मेसिन हस्तान्तरण गरेको हो।
उक्त मेसिनको काठमाडौंमहानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उक्त मेसिन सहयोग गरेकोमा महानगरपालिकालाई धन्यवाद प्रकट गरेका थिए।
उक्त मेसिन कोरोनाको पिसिआरको लागि मात्र नभई अन्य रोगका लागि पनि उपयुक्त हुने मन्त्री ढकालले बताए।
मन्त्री ढकालले कोभिडको पहिलो केस हङकङमा पठाएको स्मरण गर्दै अहिले सरकारी स्तरमा ३२ वटा ल्याबमा दैनिक १८ हजार ५ सय स्वाब परीक्षण गर्नसक्ने क्षमता रहेको जानकारी दिए।
ए लेभलका ८ निजी ल्याबलाई अनुमति दिएसँगै ती ल्याबमा दैनिक ३ हजार÷३५ सय स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको पनि मन्त्री ढकालले बताए। सरकारले आवश्यक परे दैनिक २२ हजार पिसिआर परीक्षण गर्न सकिने क्षमता रहेको मन्त्री ढकालले दावी गरेका छन्।
कार्यक्रमममा बोल्दै काडमाडौं उपमहानगरपालिका मेयर विद्या सुन्दर शाक्यले महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा सहकार्य गर्दै आइरहेको र अन्य अस्पतालमा पनि आवश्यक परेमा महानगपालिका सहकार्य गर्न तयार भएको जानकारी दिए।
प्रसूति सेवा लिन आउने महिलाको पिसिआर परीक्षण सहज हुने हिसाबले महानगरपालिकाले मेसिन सहयोग गरेको शाक्यले बताए।
संक्रमितको सम्र्पकमा आउनासाथ पिसिआर परीक्षण गर्नुभन्दा पनि केही दिन होम आइसोलेसनमा बसेर पिसिआर गर्दा प्रभावकारी रिजल्ट आउने शाक्य बताउँछन्।
उनी भन्छन्, ‘सबै विज्ञसँग सल्लाह गर्दा के थाहा भयो भने संक्रमितसँग सम्पर्क हुनासाथ पिसिआर गर्नुभन्दा ५ दिनपछि गर्दा रिपोर्ट राम्रो आउने रहेछ।’
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालकी निर्देशक डा संगीता मिश्राले अस्पतालले एक वर्षमा २९ हजार ९ सय ३४ जना भर्ना भएकोमा २२ हजार ४ सय ६१ जना सुत्केरी भएको जानकारी दिइन्।
त्यस्तै १० हजार ९ सय ६६ जनाको शल्यक्रिया भएकामध्ये ८ हजार ५ सय ३८ जनाको शल्यक्रियाबाट बच्चा जन्माएका छन्।
त्यस्तै एनआइसियुमा १ हजार ६ सय ६३ जना भर्ना भई सेवा लिएका छन् भने सुरक्षित गर्भपतन १ हजार १ सय १४ जनाले सेवा लिएका छन्।