काठमाडौं- पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या भेटिने क्रम बढ्दो छ। मंगलबार मात्र उपत्यकाका तीन जिल्लामा गरी १३४ जनामा संक्रमण भेटिएको थियो।
संक्रमितको संख्या थपिँदै जाँदा उपत्यकाका अस्पतालमा भने संक्रमितको उपचारका लागि बेड अभाव हुन थालिसकेको छ। बेड अभाव हुँदा पछिल्लो केही दिनयता लक्षण नदेखिएका र सामान्य लक्षण भएका संक्रमितलाई समेत घरमै बस्न भन्न थालिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार उपत्यकाका तीन जिल्लामा गरी मंगलबार साँझसम्म १ हजार १ सय २२ जना सक्रिय संक्रमित छन्। तर, यी सबै संक्रमित अस्पतालमा उपचाररत भने छैनन्। यी मध्ये २ सय भन्दा बढी संक्रमित घरमा नै छन्।
मन्त्रालयको पछिल्लो पाँच दिनको तथ्यांक अनुसार सक्रिय संक्रमितमध्ये २०७ जना होम आइसोलेसनमा छन्। होम आइसोलेसनमा उपत्यकामा एकै दिन ६८ जनालाई समेत बस्न भनिएको मन्त्रालयको तथ्यांकले देखाउँछ।
मन्त्रालयले स्वास्थ्यखबरलाई उपलब्ध गराएको तथ्यांक अनुसार साउन २२ गते १४ जना, साउन २३ गते ६८ जना, साउन २४ गते २१ जना, साउन २५ गते ६३ जना र साउन २६ गते ४१ जनालाई होम आइसोलेसनमा राखिएको छ।
उपत्यकाका तीन जिल्लामाध्ये सबैभन्दा बढी सक्रिय संक्रमित काठमाडौं जिल्लामा छन्। काठमाडौंमा सक्रिय संक्रमितको संख्या ९३३ छ। त्यसपछि ललितपुरमा १२४ र भक्तपुरमा ६५ जना सक्रिय संक्रमित छन्।
उपत्यकामा पछिल्लो समय भेटिएका धेरैमा कोरोनाको लक्षण समेत भेटिएको मन्त्रालयको तथ्यांकले देखाउँछ। मन्त्रालयका अनुसार उपत्यकामा भेटिएकामध्ये ३६ दशमलव १ प्रतिशतमा कोरोनाको संक्रमण देखिएको छ। लक्षण देखिएकामध्ये केहीमा कडा लक्षण समेत छन्।
होम आइसोलेसनमा बस्न भनिएका केही संक्रमितले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीलाई रुँदै अस्पतालमा लैजान समेत भन्ने गरेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
'केही संक्रमितले घरमा बस्दा समस्या परेकाले अस्पतालमा लैजान भन्दै रुँदै फोन समेत गर्ने गरेका छन्' मन्त्रालयका एक कर्मचारीले भने, 'तर हामीले अझै व्यवस्थापन गर्न सकेका छैनाैँ।'
उपत्यकामा सक्रिय संक्रमितको संख्या ११२२ जना भए पनि मंगलबार साँझसम्ममा उपत्यकामा निको भएर घर गइसकेका संक्रमितसहित कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ।