मुख्य समाचार

प्रशासनले सुरक्षाको प्रत्याभूति दिलाउने भएपछि नारायणी अस्पतालका कर्मचारीको सामूहिक राजीनामा फिर्ता

काठमाडौं- सुरक्षाको प्रत्याभूति भएपछि नारायणी अस्पतालका ३ सय ५० कर्मचारीले बुझाएको सामूहिक राजीनामा फिर्ता लिएका छन्। जिल्ला प्रशासन कार्यालयले सुरक्षा प्रदान गर्ने भएपछि उनीहरुले राजीनामा फिर्ता लिएका हुन्। 

नारायणी अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अन्य कर्मचारीले आक्रमणकारीलाई कारबाही गर्नुपर्ने, अस्पतालमा आक्रमणपछि भएको क्षतिको क्षतिपूर्ति र शान्ति सुरक्षाको माग राख्दै सामूहिक राजीनामा बुझाएका थिए। 

नारायणी अस्पतालले नारायणी अस्थायी कोभिड अस्पतालमा सहित हालसम्म ११ सयभन्दा बढी कोरोना संक्रमितको उपचार गरेको छ। संक्रमितको उपचारमा खटिएका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएको छ।

गत शुक्रबार वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको उपचारका विषयलाई लिएर अस्पतालमा आक्रमण भएको थियो। श्वासप्रस्वासमा समस्या आएपछि ती युवतीलाई सुरुमा एड्भान्स मेडिकेयर सेन्टरमा लगिएको थियो। त्यहाँ भर्ना गर्न नमानेपछि ती युवतीलाई नारायणी अस्पतालमा ल्याइएको थियो।

नारायणीका डाक्टर तथा नर्समा समेत संक्रमण देखिएका कारण कोरोना संक्रमित बाहेकका बिरामीलाई भर्ना गरिएको थिएन। त्यसपछि ती बिरामीलाई बयोधा अस्पतालमा लगिएको थियो। तर त्यहाँ पनि भर्ना लिन नमानेपछि नेसनल मेडिकल कलेजमा लगिएको थियो। मेडिकल कलेजले पनि भर्ना लिन नमानेपछि बिरामीका आफन्तले नारायणी अस्पतालका चिकित्सकलाई फोन गरेका थिए।

त्यसपछि अस्पतालले बिरामीलाई नारायणीकै अस्थायी कोभिड अस्पतालमा ल्याउन भनेको थियो। सोही अनुसार ती युवतीलाई कोभिड अस्पतालमा ल्याएर उपचार प्रक्रिया अगाडि बढाइएको थियो। तर उपचारका क्रममा शनिबार ती युवतीको मृत्यु भएको थियो। मृत्युपछि गरिएको कोरोना परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको थियो।

युवतीको मृत्यु भएपछि छपकैयाका करिब एक सय जति मानिस आएर अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए। सो क्रममा अस्पतालका झ्यालका सिसा फुट्नुका साथै स्वाब संकलन गर्ने बुथमा समेत क्षति भएको छ। उनीहरुले अस्पतालका चिकित्सकहरु विरुद्ध नाराबाजी समेत गरेका थिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने