काठमाडौं- पछिल्लो २४ घन्टामा नेपालमा थप आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौं र धादिङका १/१, धनुषाका २, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका १/१ गरी जम्मा आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९१ पुगेको छ।
काठमाडौं महानगरपालिका १२ टेकुका ७८ वर्षीय एक महिलाको उपचारको क्रममा बुधबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
झाडापखाला र ज्वरो आएका कारण उनलाई साउन २६ गते ललितपुरस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिभर क्लिनिकबाट रेफर भई किस्ट मेडिकल कलेजमा पुगेको मन्त्रालयले जनाएको छ।
उनी उच्च रक्तचाप, मधुमेह, हाइपोथोइराइडिजम, सेप्टिक सक तथा मिर्गौला सम्बन्धी रोगबाट ग्रसित रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनी साउन २६ गते नै स्वाब संकलन गरिए पनि बुधबार मात्र कोरोना पुष्टि भएको हो।
ह्याम्स अस्पतालमा उपचाररत निलकण्ठ नगरपालिका वडा नं १४, धादिङका ३२ वर्षीय एक पुरुषको मृत्यु भएको छ। उनको साउन २७ गते २ः४५ मा मृत्यु भएको थियो। निमोनिया, खोकी तथा श्वासप्रश्वासमा कठिनाइ भएपछि २७ गते नै उनी ह्याम्स अस्पतालमा भर्ना भएका थिए। आइसियु भेन्टिलेटरमा उपचाररत उनको २७ गते नै कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। उनी क्षयरोगीका बिरामी समेत थिए।
यस्तै, जनकपुर महानगरपालिका १ धनुषाका ७१ वर्षीय एक पुरुषको पनि उपचारको क्रममा बुधबार मृत्यु भएको छ। निमोनिया तथा श्वासप्रश्वासमा कठिनाइ भएपछि साउन ५ गते उनी मेडिसिटी अस्पतालमा भर्ना भएको डा गौतमले जानकारी दिए। उनको साउन ७ गते कोरोना पुष्टि भएको थियो।
धनुषाकै जनकपुर महानगरपालिका वडा नं ८ का ३८ वर्षीय एक कोरोना संक्रमित महिलाको पनि बुधबार मृत्यु भएको छ। इन्सेफ्लाइटिस भई साउन १८ गते उनलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो। अल्का अस्पतालमा कोरोना पुष्टि भएपछि उनलाई सोही दिन पाटन अस्पतालमा रिफर गरिएको मन्त्रालयले जनाएको छ।
उपचारका लागि अस्पताल लैजाने क्रममा सप्तरीमा एक कोरोना संक्रमित पुरुषको साउन २७ गते बाटोमै मृत्यु भएको छ। सप्तरीस्थित डाक्रेश्वरी नगरपालिका वडा नं ८ घर भएका राजविराज नगरपालिका वडा नं ६ सिराहारोडमा बस्दै आएका ७२ वर्षीय पुरुषको मृत्यु भएको हो।
कोरोना पुष्टि भएपछि उपचारका लागि अस्पताल लैजादा गर्दा उनको बाटोमै मृत्यु भएको मन्त्रालयले जनाएको छ। चार दिनअघि ज्वरो आई स्वाब परीक्षण गर्न दिएका उनको साउन २७ गते नै कोरोना पुष्टि भएको थियो। मन्त्रालयका अनुसार उनी थाइराइड, मधुमेह, उच्च रक्तचार तथा मुटु सम्बन्धी रोगबाट ग्रसित थिए।
मोरङको बुढीगंगा गाउँपालिका २ गंगाचोकका ५५ वर्षीय एक पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ। ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनी साउन २६ गते कोशी अस्पतालमा लगिएको थियो। तर कोशीले थप उपचारका लागि बिपी अस्पतालमा रिफर गरेको मन्त्रालयले जनाएको छ। उनको २७ गते कोरोना पुष्टि भएको थियो।
यस्तै, कपिलवस्तु नगरपालिका– २, तौलिहवामा पनि एक ४२ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको छ। ज्वरो तथा निमोनिया भई साउन २५ गते उनी बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए। भेन्टिलेटरमा उपचाररत उनको २७ गते कोरोना पुष्टि भएको थियो।
यता, किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ललितपुरमा उपचाररत बारा, कलैयाका ७५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। शरीर कमजोर भई चक्कर लागेका कारण उनी साउन २६ गते अस्पताल भर्ना भएका थिए।
मन्त्रालयका अनुसार उनी रक्तअल्पता, हाइपोथाइराइडिजम, सेप्टिक सक, दम तथा मिर्गौला सम्बन्धी रोगबाट ग्रसित थिए। उनको बुधबार नै कोरोना पुष्टि भएको प्रवक्त डा गौतमले जानकारी दिए।