काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न ११ अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ अस्पतालमा गरी ६२२ जना संक्रमितको आइसोलेसन वार्डमा उपचार हुँदै छ।
उपत्याकाका ११ मध्ये ७ वटा अस्पतालमा ३८ जना कोरोना संक्रमितको आइसियुमा र २ वटा अस्पतालमा २ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
मन्त्रालयको बुधबार साँझसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १५ जना संक्रमित आइसियुमा उपचाररत छन्। त्यसपछि पाटन अस्पतालमा ८ जना संक्रमित आइसियुमा उपचाररत छन्। पाटनमै एक जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।
ग्रान्डी अस्पतालमा पनि एक जना संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्यांक अनुसार एपिफ अस्पतालमा ६, त्रिवि शिक्षण अस्पतालमा ५, ह्याम्स अस्पतालमा २, वीरेन्द्र अस्पतालमा १ र धुलिखेल अस्पतालमा १ जना आइसियुमा उपचाररत छन्।
यस्तै, आइसोलेसनमा भने सबैभन्दा बढी किर्तीपुर आयुर्वेद अस्पतालमा संक्रमित उपचाररत छन्। आयुर्वेद अस्पतालमा १५१ जना भर्ना भएको मन्त्रालयले जनाएको छ। एपिएफ अस्पतालमा १२२, शुक्रराज तथा सरुवा रोग अस्पतालमा ३२, त्रिवि शिक्षण अस्पतालमा ११, पाटनमा ७२, केएमसी दुवाकोटमा ६७, ह्याम्समा ४, धुलिखेल अस्पतालमा १६, ग्रान्डीमा ७, श्री विरेन्द्र अस्पतालमा २२ र प्रहरी अस्पतालमा १०० जना आइसोलेसनमा उपचाररत छन्।