काठमाडौं- पछिल्लो २४ घन्टामा सात जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा भर्ना भएका छन्। चार जना आइसियु र तीन जना संक्रमित भेन्टिलेटरमा भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै आइसियु र भेन्टिलेटरमा रहने कोरोना संक्रमितको संख्या ९६ पुगेको छ। जसमध्ये ५ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यसअघि बुधबार आइसियुमा ८७ र भेन्टिलेटरमा दुई गरी ८९ जना संक्रमित उपचाररत थिए।
बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियुमा छन्। बागमतीमा मात्र ३८ जना संक्रमित आइसियुमा छन्। पाँच जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
यस्तै, प्रदेश २ मा ४३, प्रदेश ५ मा ९ र गण्डकी प्रदेशमा १ जना संक्रमित आइसियुमा छन्। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्।