काठमाडौं- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा थप चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार आएको रिपोर्टमा थप चार जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो। संक्रमण देखिएका स्वास्थ्यकर्मी इमरजेन्सी वार्डको नभई अन्य वार्डको रहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले जानकारी दिए। यद्यपि उनीहरु कुन वार्डको भनेर छुट्याउन बाँकी रहेको उनले बताए।
डा दासले भने, ‘भर्खरै चार जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको रिपोर्ट आएको छ। उहाँहरु इमरजेन्सीको होइन। अन्य वार्डको नै हो। उहाँहरु कोको र कुन वार्डको हो भनेर छुट्याउन बाँकी नै छ।’
योसँगै त्रिवि शिक्षण अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ। यसअघि बुधबार मात्र इमरजेन्सीका ४ जना नर्सिङ स्टाफ र दुई जना चिकित्सक सहित ६ जनामा कोरोना भेटिएको थियो।
इमरजेन्सी विभागका एक सय बढी स्वास्थ्यकर्मीको कोरोना परीक्षणका लागि नमुना संकलन गरिएको डा दासले बताए। उनीहरुको रिपोर्ट शुक्रबार या शनिबारसम्म आउने उनले जानकारी दिए। उनीहरु सबै हाल होम क्वारेन्टाइनमा छन्। डा दासका अनुसार संक्रमित स्वास्थ्यकर्मीहरु हाल अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
हाल त्रिवि शिक्षण अस्पतालको इमरजेन्सी विभाग बन्द छ। बुधबार ६ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि उक्त विभाग सिल गरिएको थियो। बाँकी स्वास्थ्यकर्मीको रिपोर्ट आएपछि मात्र सेवा सञ्चालन गर्ने विषयमा निर्णय हुने अस्पतालले जनाएको छ। अस्पतालको इमजरेन्सी विभाग बन्द रहे पनि अन्य ओपिडी र ओटी सेवा भने सञ्चालन भइरहेको छ।