काठमाडौं - नेपालमा आइसियु र भेन्टिलेटरमा रहने कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। पछिल्लो तीन दिनमा आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या २१ जनाले बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर हाल १ सय २ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। जसमध्ये चार जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बिहिबार आइसियुमा र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ९६ थियो। साउन २८ गते ८९ र साउन २७ गते ८८ जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए।
हाल बागमति प्रदेशमा सबैभन्दा धेरै ४६ जना संक्रमित आइसियुमा उपचारत छन्। चार जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
प्रदेश २ मा ४३, प्रदेश ५ मा ८ र गण्डकीमा १ जना संक्रमित अस्पतालको आइसियुमा छन्। प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्।