काठमाडौं - पछिल्लो एक सातामा होम आइसोलेसनमा रहने कोरोना संक्रमितको संख्या ४ सय ५५ बढेको छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा रहने संक्रमित संख्या पनि बढ्दै गएको हो।
साउन २५ गते ७ जना संक्रमित मात्र होम आइसोलेसनमा रहेकोमा साउन ३० गते ४ सय ६२ जना होम आइसोलेसनमा छन्। साउन २६ गतेबाट होम आइसोलेसनमा रहने संक्रमितको संख्या ह्वात्तै बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।
यसअघि साउन २९ मा ४ सय ४१, साउन २८ मा ३ सय ३५, साउन २७ मा २ सय २४, साउन २६ मा १ सय ६६ र साउन २५ मा ७ जना संक्रमित होम आइसोलेसनमा थिए।
हाल गण्डकी प्रदेश बाहेक ६ वटा प्रदेशमा कोरोना संक्रमित होम आइसोलेसनमा छन् । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १ सय ७ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। प्रदेश २ मा ९८, प्रदेश १ मा ९३, प्रदेश ५ मा ८१, बागमतीमा ७५ र कर्णाली प्रदेशमा ८ जना संक्रमित होम आइसोलेसनमा छन्।
स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिकाले होम आइसोलेसन सम्बन्धी विभिन्न विषयहरु उल्लेख गरेको छ।
लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई घरमै राखी व्यवस्थापन गर्न सकिने निर्देशिकामा उल्लेख छ । तर शय्या अभावका कारण लक्षण भएका संक्रमितहरु पनि होम आइसोलेसनमै बस्न बाध्य भएका छन्।
सरकारले होम आइसोलेसनको नीति ल्याएपनि विज्ञहरुले भने यसलाई व्यावहारिक नभएको बताउँदै आएका छन्। विदेशी मुलुकमा यो सान्दर्भिक भएपनि नेपाली परिवेशमा भने होम आइसोलेसन उपयुक्त विकल्प नभएको उनीहरु बताउँछन्।