काठमाडौं– कोरोना संक्रमितको उपचारका लागि सबै अस्पतालले २० प्रतिशत बेड छुट्याउनुपर्ने सरकारको निर्णयपछि चितवनको पुष्पाञ्जली अस्पतालले संक्रमितको उपचार सुरु गरेको छ। अस्पतालमा ६१ वर्षीय कोरोना संक्रमित पुरुषको आइसियूमा उपचार भइरहेको जानकारी अस्पतालले दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार जिल्ला प्रशासन र भरतपुर अस्पतालसँग समन्वय गरी संक्रमितको उपचार सुरु गरिएको हो। चितवनको रत्ननगर-९ टिकौलीका ती पुरुष श्वासप्रश्वासमा समस्या भएपछि साउन २७ गते आइसियूमा भर्ना भएका थिए।
उनको दुवै फोक्सोमा निमोनिया भई भाइरल निमोनियाको रूपमा उपचार सुरु गरिएको अस्पतालले जनाएको छ। ती व्यक्तिमा साउन ३० गते कोरोना पुष्टि भएको हो।
सरकारको निर्णयपछि ती संक्रमितको उपचारलाई निरन्तरता दिइने अस्पतालले जनाएको छ। अस्पतलाका अनुसार उनको अवस्था गम्भीर तर स्थिर छ।
संक्रमितको उपचारका लागि सघन कक्षको व्यवस्थापन, चिकित्सकलगायत स्वास्थ्यकर्मीको क्वारेन्टाइन र स्वास्थ्य सामग्रीको व्यवस्थापन अस्पतालले गरिसकेको छ। ओपिडी तथा आन्तरिक सेवा पनि स्वास्थ्य निर्देशिकाअनुसार संचालन गरिएको अस्पतालले जनाएको छ।
शुक्रबार सबै अस्पताललाई २० प्रतिशत बेड छुट्याउन र संक्रमित देखिए सोही अस्पतालमा व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको थियो।
